
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटिको आसन्न निर्वाचनमा महासचिब निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
निलेन्द्रले एक प्रेश विज्ञप्तीमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल ट्रायथलन संघका केन्द्रिय अध्यक्ष समेत रहेका उनले विज्ञप्तीमा भनेका छन–“नेपाल ओलम्पिक कमिटीको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा म अत्यन्तै गर्वित महसुस गरिरहेको छु । यस घोषणासँगै, मेरो उद्देश्य नेपालको खेलकुद क्षेत्रको समग्र विकास, खेलाडीहरूको हितमा काम गर्ने, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुदलाई थप उचाइमा पुर्याउने हो।”
एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल महासचिब पदमा एनओसीको नेतृत्व गरिसकेका निलेन्द्र नेपाली खेलकुद क्षेत्रमा कृयाशिल देखिन्छन् । नेकपा माओवादी निकट समेत रहेका उनले एनओसीको निर्वाचनको मिति घोषणाको तयारी भए संगै ५ जना उपाध्यक्षहरुलाई उछिन्दै अध्यक्ष पदमा दावेदारी गरेका हुन् ।
एनओसीमा अध्यक्ष जिवनराम श्रेष्ठको चार वर्षे कार्यकाल एक वर्ष वर्तमान कार्यसमितिले बढाएको छ । एक वर्ष कार्यकाल बढि सक्दा समेत निर्वाचनको घोषणा हुन नसकेको एनओसीको निर्वाचन विधान संसोधनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) मा पठाएको छ । आइओसीबाट विधान संसोधन भएर आए पछि एनओसीले नेपालमा विशेष साधारण सभा हुनेछ । त्यस लगतै एनओसी निर्वाचनमा होमीने छ ।
एनओसीमा हाल २७ मताधिकार रहेको छ । २७ खेल संघ आवद्ध एनओसीमा सबै खेल संघहरुलाई समेट्नु पर्ने भन्दै केही खेल संघहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
विभिन्न तीन बुँदे अभियानका साथ निर्वाचनमा उम्मेदवारी घोषणा गरेका निलेन्द्रले खेलकुद क्षेत्रको प्रगति र खेलाडीहरूको क्षमता अभिवृद्धि, आफूले सिकेको शिक्षालाई अझै प्रभावकारी रूपमा उपयोग गर्दै, आगामी दिनमा संस्थालाई थप सक्षम र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन् ।
खेलाडीको हकहित सुनिश्चित गर्न र खेलकुदमा उनीहरूको भविष्य निर्माणका लागि दीर्घकालीन योजनातर्जुमा, अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको सहभागिता र प्रभावकारी प्रतिनिधित्वलाई सुदृढ बनाउन, प्रतिभा खोज्ने, तल्लो तहका कार्यक्रमहरूलाई मजबुत पार्ने, र ओलम्पिक तथा एसियाली खेलकुदहरुमा नेपालको उपस्थितिलाई उचाल्दै खेलकुद मार्फत राष्ट्रलाई एकताबद्ध गर्ने आफ्नो प्रतिवद्धतामा जनाएका छन् ।
