एनपिएल फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको पोखरा रंगशालामा प्रशिक्षण सुरू

पोखरा स्पोर्टस । नेपालमा नै पहिलो पटक आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आफ्नो प्रशिक्षण पोखरामा सुरू गरेको छ ।

पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानलाई आफ्नो होम ग्राउण्डको रुपमा घोषणा गर्दै मंगलबारबाट प्रशिक्षण सुरु गरेको हो । दिउसो २ बजेबाट सुरु भएको प्रशिक्षणमा टिमका मुख्य प्रशिक्षक राजिव कुमारसहित टिम कप्तान कुशल भुर्तेल समेत मैदानमा उत्रिएका छन् । तर पहिलो दिन भने टिममा अनुवन्धित विदेशी खेलाडीहरु भने उपस्थित हुन नसकेको टिमका म्यानेजर किरण सम्शेर जङ्ग बहादुर राणाले पोखरा स्पोर्टसलाई बताए ।

पहिलो पटक पोखरा रंगशालामा सुरू भएको प्रशिक्षण बारे पोखरा स्पोर्टस संग कुरा गर्दै प्रशिक्षक राजिवले आफू टिम संग जोडिन पाउँदा खुसी लागेको बताए । “यो मेरो लागि ऐतिहासिक अवसर हो । नेपालमा पहिलो पटक आयोजना हुने प्रिमियर लिगमा पोखरा एभेन्जर्स जस्तो महत्वपूर्ण टिम संग जोडिन पाएको छु”–उनले भने–“हामी एक टिम भएर मैदानमा हुने छौं । हामीले आफ्ना अनुभव समेत साट्ने छौं जसले टिम एक छ भन्ने सन्देश समेत दिनेछ ।”

नेपाल प्रिमयर लिगले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुगने बताउँदै प्रशिक्षक राजिवले आफ्नो टिमले समर्थकहरुलाई निराश नपार्ने गरी प्रदर्शनको तयारी गर्ने बताए । उनले भने–“आजाट हामीले तयारी सुरु गरेका छौं । आशा छ हामीले नेपाली क्रिकेट प्रेमीहरुलाई निराश बनाउने छैनौं । हामी अन्तिम सम्म आफ्नो क्षमता प्रदर्शन गर्नेछौं ।”

यस्तै पोखरा एभेन्जर्सका टिम कप्तान कुशल भुर्तेलले विदेशी खेलाडी सहित नेपाली राष्ट्रिय टोलीका उत्कृष्ट टोलीलाई कप्तानीको भूमिकामा रहेर अघि बढ्न पाउँदा गौरव लागेको बताए । उनले भने–“मेरो लागि यो महत्वपूर्ण अवसर हो । मैले अन्तर्राष्ट्रियस्तरका खेलाडी र नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको कप्तानको रुपमा नेतृत्व गर्न पाएको छु ।”

बप्तान कुशलले आफ्नो टिम निकै उत्साहित रहेको जनाउँदै पोखरामा शुरु भएको प्रशिक्षणले टिम फाइटका लागि तयारी सुरु गरेको बताए । पोखरा रंगशालामा सुरु भएको प्रशिक्षणले यहाँको क्रिकेट खेल मैदानले संधै पोजेटिभ भाइव्स दिने बताउँदै आफ्नो टिम मेट्सहरु पनि पोखरा आउन पाउँदा निकै उत्साहित रहेको जनाए ।

यस्तै सहायक प्रशिक्षक रिजन प्रजुले टिमको पहिलो दिनको प्रशिक्षणलाई निकै उत्साहित रहेको बताए । नेपालमा समेत फ्रेन्चाइज लिगको सुरुवात हुनुले पनि आफू लगायत टिम उत्साहित रहेको बताउँदै पोखरा एभेन्जर्सले उत्कृष्ट प्रदर्शन गर्नेतर्फ ध्यान दिने बताए । उनले भने–“यो पहिलो दिन हो । सडकमार्फत पोखरा आउँदा हामी एक दिन ढिला भयौं । प्रशिक्षण औपचारिक रुपमा सुरू भएको छ । खेलाडीहरु उत्साहित छन् ।”

यस्तै टिमका जेनरल म्यानेजर किरण भट्टराईले लामो समयको प्रतिक्षा पछि यो प्रशिक्षण सुरु भएको जनाउँदै भने–“अब एनपिएलको टाइटल ट्रफी उचाल्नका लागि रिहर्शल सुरु भएको छ ।” उनले पोखरा एभेन्जर्सका लागि समेत आकर्षक उपहारहरु समेतको छिट्टै घोषणाहुने बताउँदै यूवा खेलाडीहरुले टिमको प्रशिक्षणबाट समेत धेरै कुरा सिक्ने बताए । उनले पोखरा एभेन्जर्स टिम व्यालेनस टिम रहेको जनाउँदै शुखद नतिजाको पर्खाइमा रहेको उल्लेख गरे ।

यस्तै टिम म्यानेजर राणाले पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट मैदान होम ग्राउण्ड रहेको बताउँदै यहाँका क्रिकेट खेलाडीहरुलाई अघि ल्याउने गरी आफ्नो तयारी सुरु भएको बताए । एनपिएल नेपालका लागि ऐतिहासिक रहेको जनाउँदै उनले क्रिकेट विकासका लागि समेत उर्जा दिने बताए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे रहेका छन् ।

त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराको मुख्य प्रशिक्षकका रुपमा रहेका छन् ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । पोखरा एभेन्जर्सले एक साता पोखरा क्रिकेट खेल मैदानमा प्रशिक्षण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close