
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)मा उत्पन्न विवादको छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित समितीले बिहिबार बयान लिने काम सकेको छ ।
तिन दिन देखि १३ जना संग बयान लिएको छानविन समितीले बिहिबार ६ जना संग बयान लिएको हो । सो बारे जानकारी दिंदै राखेप सदस्य तथा छानविन समितीकी प्रचार प्रसार संयोजक सुवर्ण श्रेष्ठले समितीले बयानको क्रम सकिएको पोखरा स्पोर्टसलाई बताएकी हुन । उनले भनिन–“हामीले बयानको लिने काम सकेका छौं, हामीले प्रतिवेदन तयार गर्दा सम्म यदि आवश्यकता परेमा हामी फेरी पनि अरुलाई बोलाउन सक्छौं ”
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, टिमका कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्हा अलमुताइरी, विवादको मध्यस्तकर्ता गर्न अग्रसर रहेका रविराज कर्णीकार, पत्रकार द्वय विभा थापा र विभु श्रेष्ठलाई आज बयानका लागि बोलाइएको प्रचार–प्रसार संयोजक श्रेष्ठले पोखरा स्पोर्टस लाई जानकारी दिएकी छन ।
एन्फामा उत्पन्न विवादको छानविन गरी प्रतिवेदन बुझाउन गठित समितीले बयानको क्रममा बोलाइएका धेरैको भनाइलाई उद्धृत गर्दै प्रचार प्रसार संयोजक श्रेष्ठले भनिन–“उहाँहरु सबै नेपाली फुटबलको विकासका बारेमा चिन्ता व्यक्त गरेको पायौं ।” “फुटबल विकासका लागि मिल्नु पर्छ यसरी विवाद गर्नु राम्रो होइन भनेको त सुन्यौं,” उनले भनिन–“हामी सोमबार प्रतिवेदन बुझाउँछौ, मिल्ने कसरी भन्ने कुरा भने उहाँहरुकै हातमा रहन्छ ।”
फुटबल प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङ विरुद्ध सामाजिक संजालमा लेखे पछि एन्फाको विवाद चरमउत्कर्षमा पुगेको थियो । एन्फाले विवाद समाधानका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पचाचार गरे पनि मन्त्रालयले राखेपलाई पुनः पत्र लेख्दै विवादको छानविन सहित समाधान गर्न आग्रह गरेको थियो ।
राखेपले विवाद छानविनका लागि राखेप सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा समिती गठन गरी छानविन सम्पन्न गरी प्रतिवेदन वुझाउन सात दिनको समय दिएको छ ।
