
पोखरा स्पोर्टस । बैदेशिक रोजगारीमा गएका विभिन्न खेल संघका पदाधिकारीहरुलाई परिषदले हटाउन यथासिघ्र पहल थाल्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले बताएका छन् ।
गण्डकी प्रदेश भलिबल संघको दोस्रो साधारण सभामा बोल्दै सदस्य सचिब शर्माले उक्त कुरा बताएका हुन् । प्रदेशका विभिन्न र जिल्ला संघका पदाधिकारीहरु निर्वाचित भएर बैदेशिक रोजगारीमा गएका कारण खेल विकासको गति अवरोध भएको जनाउँदै समयमा साधारण सभा नगर्ने संघहरुलाई कार्वाहीको दायरामा ल्याउँदै उनीहरुको गतिविधि समेत रोक्ने बताए ।
“खेल संघहरु चलायमान र आत्मनिर्भर बनाउन परिषद सहयोग गर्न तयार छ । तर खेल संघका पदाधिकारीहरु नै बैदेशिक रोजगारीमा छन् भने को संग सहकार्य गर्ने ?”–उनले प्रश्न गर्दै भने–“परिषद खेल संघहरुलाई पारदर्शी, सुशासन र संस्थागत विकासतर्फ अग्रसर बनाउने मार्गमा अघि बढाउन चाहन्छौं ।” खेल संघहरुले आयोजना गर्ने कार्यक्रमहरुका लागि परिषद सहयोग गर्न तयार रहेको उल्लेख गर्दै सदस्य सचिब शर्माले पोखरा भलिबलको समेत भूमी भएकोले भलिबल संघ नै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अग्रसर हुनुपर्ने कुरा औंल्याए ।
सो अवसरमा सदस्य सचिब शर्माले सेन्ट्रल एसिया जुनियर भलिबलमा रजत पदक जित्न सफल टिमका प्रशिक्षक रमेश केसी संगै खेलाडीहरु विश्वास अधिकारी, सूर्य विक र जित बहादुर सार्कीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङले संघमा देखिएका समस्याहरु समाधान गर्दै गण्डकी प्रदेशले भलिबलमा राखेको शाखलाई जोगाउँदै अघि बढ्न आग्रह गरे । उनले संघमा बस्ने पदाधिकारीहरुले आफ्नो मर्यादा अनुरुप बढेमा मात्रै खेलाडीहरुमा समेत अनुशासन कायम गर्न सहज हुने बताउँदै महिला खेलाडीहरुको उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।
संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिशीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघको वार्षिक प्रतिवेदन तथा कार्य योजना महासचिव टहल सिंह थापाले प्रस्तुत गर्दै गण्डकी प्रदेशको भलिबल विकासका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । त्यसै गरी कोषाध्यक्ष टुकराज गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
