यु १९ विश्वकप क्रिकेटमा छनोट भएका गण्डकीका खेलाडीलाई पोखरामा भब्य स्वागत

पोखरा स्पोर्टस । युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट हुन सफल नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका खेलाडीलाई पोखरामा भब्य स्वागत गरिएको छ ।

प्रादेशिक क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एक र्‍यालीसहित पोखरा रंगशालामा स्वागत गरेका थिए । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीसहित विभिन्न खेल संघ र खेलाडीहरुले रंगशालामा स्वागत गरेका थिए ।

यु १९ राष्ट्रिय टिममा गण्डकीबाट सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सिनिका मरासिनी सहभागि थिए । उनीहरुले विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए । रचना कास्कीकी हुन् भने कुशुम, ज्योत्सिनिका र सिमाना स्याङ्जाका हुन् । 

गत बुधबार युएईको अजमानमा बुधवार घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।

सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन । ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो ।

स्वागत कार्यक्रममा बोल्दै परिषदका सदस्य सचिब श्रीधर शर्माले राष्ट्रिय गौरव बढाउन खेलाडीहरुले गरेको महत्वपूर्ण योगदानको परिषद र प्रदेश सरकारले सम्बोधन गर्ने जनाउँदै यूवा खेलाडी उत्पादनमा परिषदले आफ्ना कार्यक्रमहरुलाई अभियानको रुपमा अघि सार्ने जनाए ।

यस्तै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकीका खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नयाँ छाप छोड्न सफल भएको बताउँदै यसले यूवा खेलाडीहरुलाई क्रिकेटमा आकषर्ण गर्न सहयोग पुग्ने बताए । पोखरा विमानस्थलमा  भव्य स्वागत गर्दै संघले सम्मान स्वरुप केही रकम दिने समेत निर्णय गरेको अध्यक्ष सिग्देलले बताए  !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close