
पोखरा स्पोर्टस । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको पूर्व घोषित मिति सकिंदै गर्दा खेल क्षेत्र अन्यौलमा परेको छ ।
मंसिर २ गते उद्घाटन हुने भनिएको पूर्व घोषित मिति भोली आइतबार सकिदै छ । दशौं राष्ट्रिय खेलकुदको तयारीमा बसेका खेलाडीहरु अब के हुन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेको बेला जवाफ दिने निकाय भने मौनधारणमा छ ।
विभिन्न ३६ भन्दा बढि खेलका खेलाडी र प्रशिक्षकहरु पूर्व घोषित मितिमा नै हुने गरी तयारीमा रहे पनि यस बारे यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद मौन बस्दा त्यसको प्रत्यक्ष असर नेपाली खेलकुदमा परेको छ ।
सरकारले दशौं राष्ट्रिय खेलकुदको सूचना दिन ढिलाई गरिरहेको बेला खेलाडीहरुको आक्रोश समेत बढ्दै गएको छ भने अर्कातर्फ मन्त्रालय र राखेप बिचको टकरावले राखेपमा हुने भनिएको पदपुर्ती समेत हुन सकेको छैन ।
यसै बिच यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरा स्पोर्टस संग कुरा गर्दै मन्त्री परिषदले निर्णय गर्नु पर्ने भएकोले ढिलाई भएको बताए । छोटो कुराकानीमा मन्त्री चौधरीले भने–“मन्त्री परिषदले निर्णय गर्नु पर्ने भएकोले ढिलाई भएको हो । अब चाँडै हुन्छ ।”
उनले भने–“दशौं राष्ट्रिय फागुनमा हुन्छ । मैले यस अघि पनि भनिसकेको छु ।” मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद फागुनमा हुने भने पनि आधिकारिक घोषणा भने हुन सकेको छैन । राष्ट्रिय खेलकुदको पूर्व तयारी अनुरुप न त नियमाबली बनेको छ न त खेलाडी छनौटको प्रक्रिया नै अघि बढेको छ ।
मन्त्री चौधरीले फागुनमा हुने भने पनि एसइई, कक्षा ११ र १२ को परिक्षाको समेत मिति पर्ने भएकोले फागुन महिना नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ठिक हो वा होइन भन्ने विषय पनि रहेको छ ।
यता मन्त्री चौधरीले राखेपको पदपुर्ती कहिले सम्म होला भन्ने प्रश्नमा समेत ‘अव हामी चाँडै नै पदपुर्ती गर्दैछौं’ भन्ने जवाफ दिए ।
दशौं राष्ट्रिय खेलकुदको मिति तय नहुँदा सातै प्रदेशमा विभिन्न खेलकुदका कार्यक्रमहरु समेत अन्यौलमा परेका छन् ।
