‘क्रस कन्ट्रि पर्वतिय दौड सिङ्गो पोखरेलीहरुको हो’–मेयर आचार्य

पोखरा स्पोर्टस । यहि कार्तिक २४ गते पोखरामा आयोजना हुने तेस्रो सस्करणको क्रस कन्ट्रि पर्वतिय दौड सिङ्गो पोखरेलीहरुको कार्यक्रम रहेको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।

हिमालयन टुरजिम फोरमद्वारा आइतबार पोखरामा आयोजित सरोकारवालाहरु संगको छलफलमा मेयर आचार्यले उक्त कुरा बताएका हुन् । क्रस कन्ट्रि पर्वतिय दौड पोखरा र चिनको कुनमिङ शहरको मितेरी सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण खेलकुद कार्यक्रम रहेको जनाउँदै सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

पर्वतिय दौड मेगा इभेन्ट समेत रहेको जनाउँदै मेयर आचार्यले भने–“पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न मात्रै होइन दुई शहर बीचको मितेरी सम्बन्धलाई बलियो बनाउन समेत उत्तिकै महत्वपूर्ण छ।” उनले थपे–“त्यसकारणले पनि यो कार्यक्रम सिङ्गो पोखरेलीहरुको हो । म यसलाई सफल बनाउन सबैलाई आग्रह गर्छु ।”

पोखरामा आयोजना हुने सबै ठूला प्रतियोगिताहरुलाई क्यालेण्डरमा समावेश गर्दै अघि बढ्न सबै संघ संस्थाहरुलाई आग्रह गर्दै मेयर आचार्यले क्रस कन्ट्रि पर्वतिय दौड पोखरा शहरको एक महत्वपूर्ण कार्यक्रम मध्येको एक रहेको उनको भनाई थियो ।

पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदुतावासको संयूक्त आयोजनामा हुने क्रस कन्ट्रि पर्वतिय दौड बारे जानकारी दिंदैं दौडको व्यवस्थापकिय भूमिकामा रहेको संस्था हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्व शंकर पालिखेले प्रतियोगितालाई अविश्मरिणय बनाउने जिम्मा पोखराका सरोकारवालाहरुको रहेको जनाउँदै प्रतियोगितालाई सफल बनाउन व्यवस्थापनलाई उत्तिकै प्रभावकारी बनाउने प्रयास गरिएको बताए ।

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न मित्रराष्ट्र चिन संगको सम्वन्धलाई बलियो बनाउन समेत उत्तिकै महत्वपूर्ण रहेको जनाउँदै पछिल्लो समयमा घट्दै गएको चिनियाँ पर्यटकहरुको संख्या बढाउन कार्यक्रमले भूमिका खेल्ने अध्यक्ष पालिखेले बताए । उनले उक्त दिन सबै पोखरेलीहरुलाई ह्याप्पी रनमा सहभागिता जनाउन आग्रह गर्दै पोखरालाई खेलकुदको शहरमा पहिचान बनाउँदै प्रतियोगिता पर्यटन प्रवर्द्धनका लागि समेत उत्तिकै महत्वपूर्ण हुने जनाए ।

कार्यक्रममा पर्यटन ब्यबसाय संग आवद्ध विभिन्न संघ/संस्थाहरु, पोखरा महानगर पालिकाका विभिन्न वडाका अध्यक्षहरु, फेदिखोला गाउँपालिका अध्यक्षलगायत प्रतियोगितामा स्वयंसेवकको भूमिकामा रहेको पोखरा यूथ काउन्सिललगायत विभिन्न संस्थाहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष पालिखेका अनुसार चिनियाँ खेलाडीहरु सोझै चार्टर विमानद्वारा कार्तिक २२ गते पोखरा आइपुग्ने कार्यक्रम तय भएको छ । १ सय ३४ जना खेलाडी र अफिसियल सहितको टोलीमा चिनस्थित कुनान प्रान्तका खेलकुद विभाग प्रमुख समेत पोखरा आउनेछन् ।

प्रतियोगितामा ५० किलोमिटर लामो ट्रेल दौड, साइकलिङ र रोइङजस्ता प्रतिस्पर्धाहरु समावेश प्रतियोगितामा नेपाली खेलाडीलाई निःशुल्क दर्ता गरिने आयोजकले जनाएको छ । पोखराको पर्यटकिय केन्द्र वडा नं ६ बैदाम लेकसाइडबाट सुरू हुने दौड, पोखरा १७ हुँदै पोखरा २१, स्याङ्जा फेदिखोलाको वडा नं १ र २, पोखराको वडा नं २२ हुँदै लेकसाइडमा आएर सम्पन्न हुनेछ । 

कुन दौडमा कति पुरस्कार ?
टिम समूह दौड : ३० मिश्रित टोलीहरू सहभागिता जनाउने छन् । जसमा २० नेपाली र १० चिनियाँ टोलीहरू समावेश हुनेछन् । उनीहरुले ५० किलोमिटर ट्रेल दौड, साइकलिङ, र रोइङको प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा बिजेता हुने पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु ४ लाख ५८ हजार ४ सय, ३ लाख ४३ हजार ८ सय, २ लाख ९२ हजार २ सय, १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।

च्यालेन्ज इन्डिभिजुअल ग्रुप (महिला/पुरुष) : (१२० नेपाली र ८० जना चिनियाँ) दुई सयजना खेलाडीहरूको सहभागिता हुने छ । उनीहरुले ५० किलोमिटरको ट्रेल दौडमा सहभागि हुनेछन् । प्रतियोगितामा बिजेता हुने पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १ लाख ५२ हजार ८ सय, १ लाख १४ हजार ६ सय, ७६ हजार ४ सय तथा चौथो देखि सातौं सम्मका बिजेताले क्रमश जनही नगद रु ३८ हजार २ सय, आठौं देखि दशौं सम्मका बिजेताले नगद रु १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।

छात्र/छात्रा दौड : पोखराका ५ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । उक्त दौड २ किमिको हुने छ । बिजेता खेलाडीहरुले क्रमश जनही नगद रु ३० हजार, २५ हजार र २० हजार तथा चौथो देखि छैटौं सम्मका बिजेताहरुले समान नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

ह्यापी रन : मनोरञ्जनात्मक रमाइलो दौड २ किलोमिटरको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close