वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट : मधेश विरुद्ध गण्डकी ९ विकेटले बिजयी

पोखरा स्पोर्टस । वाई वाई यू–१९ राष्ट्रिय क्रिकेटमा मधेश प्रदेश विरुद्ध गण्डकीले ९ विकेटले जित हात पारेको छ । प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको गण्डकीका लागि अपराजित पौडेलले ५ विकेट लिए पछि सहज जित हात पारेको हो ।

कोशी प्रदेशको बिराटनगरमा जारी प्रतियोगितामा अपराजितले १० ओभरमा १७ रन दिएर ५ विकेट लिए । खेलको म्यान अफ दि म्याच समेत रहेका अपराजितले मयन यादवलाई १३, इमारन शेखलाई २, कप्तान शाहिल पटेललाई १, जितेश मण्डलाई ३२ र अभिशेक तिवारीलाई ४ रनमा आउट गर्दै पेभिलियन फर्काए ।

यस अघि पारीको सुरुवात गरेको मधेश ३५.३ ओभरमा ८२ रन बनाउँदै अल आउट हुन पुग्यो । मधेशका दुई खेलाडी जतेश मण्डलले ३२ र इमरना शेखले १८, मयन यादवले १३ रन बाहेक अन्य खेलाडीले दोहोरो रन छुन समेत सकेनन् । कसिलो बलिङ गरेको गण्डकीका लागि अश्विन थापाले ७ ओभरमा १ मेडन राख्दै २ विकेट लिए भने किरण भट्टराई, सिव्रिन श्रेष्ठ र सुदिप अर्यालले समान १÷१ विकेट लिए ।

गण्डकीले ८३ रनको जितको लक्ष्य १८.२ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । गण्डकीका लागि सोहेल कुंवरले ५१ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै नट आउट ३४ रन बनाए भने कप्तान अर्जुन कुमाल ४५ बलमा ३ चौकाका साथ २४ रन बनाउँदै जितेश मण्डलको बलमा आउट भए । करन पगेनीले ९ रन बनाए ।

गण्डकीले आफ्नो दोस्रो खेल भोली (सोमबार) बागमती प्रदेश विरुद्ध खेल्ने छ ।

अर्जुन कुमालको कप्तानीमा रहेको गण्डकी प्रदेशका टोलीमा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

टिमको प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजरमा अभिषेक ढकाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close