
पोखरा स्पोर्टस । पाँचौ सस्करणको ‘टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ माघ १२ गतेबाट सुरू हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने उक्त प्रतियोगिता माघ १९ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने भएको हो ।
नेपाली भलिबल प्रतियोगिताको इतिहासमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतियोगिता टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ ६ र पुरूषतर्फ ६ गरी कुल १२ टिमको सहभागिता हुने टाइगर ग्रुपका सचिव डिबी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघको स्विकृतीमा लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश/एभरेष्ट बोर्डिङ स्कुल, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड यूथ स्पार्टस क्लब, नेपाल पुलिस क्लब, भारतको एक क्लब र थाइल्याण्डको क्लबको सहभागिता हुनेछ । प्रतियोगितामा थाइल्याण्डको टिम पहिलो पटक पोखरा आउन लागेको हो ।
त्यसै गरी पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, श्रीलंकन आर्मी टिम र भारत/चिन/माल्दिभ्सको क्लबको सहभागिता हुने टाइगर ग्रुपले प्रारम्भिक रुपमा जानकारी दिएको छ । श्रीलंकन आर्मी क्लब चौथो सस्करणमा उत्कृष्ट छाप छोड्न सफल भएको टिम मध्ये एक हो ।
प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५ लाख ८५ हजार ५५५, उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान नगद रु २५ हजार ७७७, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले समान नगद रु १० हजार ५५५ का साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब तथा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेका थिए । गण्डकी प्रदेश भने उपबिजेतामा सिमित रहेको थियो ।
प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, सुश्री मिडिया प्राली, विभिन्न गाउँपालिकाहरु लगायत विदेशस्थित टाइगर ग्रुपका भातृ संस्था एवं शुभेच्छुकहरुले सहयोग गर्दै आएका छन् ।
माघ १२ देखि १९ गते सम्म सञ्चालन हुने पाँचौ सस्करणको प्रतियोगितालाई समेत विगतमा झैं सहयोग र सहकार्य गर्न टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले आग्रह गरेका छन् । उनले भने–“यो प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप हो । तर यो प्रतियोगितामा विश्वभरी छरिएर रहेका खेलप्रेमीहरुको मायाँ र भावना जोडिएको छ । जसका कारण छोटो अवधिमा नै हामीले यो उचाई मात्रै पाएका छैनौ पोखराको खेलकुदमा यो प्रतियोगिता ब्राण्डको रुपमा स्थापित भएको छ ।”
