
पोखरा स्पोर्टस । पोखरामा जारी कास्की जिल्लास्तरीय अन्तर क्लब एक दिवशिय क्रिकेटमा ८ दिन देखि लगातार जारी प्रतियोगितामा पहिलो पटक यू–१९ का राष्ट्रिय स्टार खेलाडी अर्जुन कुमालले १५१ रन बनाएका छन् ।
अर्जुनको व्यक्तिगत १५१ रनको योगदान संगै कास्की क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा समुह वि तर्फ कास्की क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २१९ रनले पराजित गरेको हो ।
कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १५१ रनको उत्कृष्ट पारी खेले । ३५२ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ्रे २७.४ ओभरमा १३२ रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छ्रेका ओपनर प्रमोद बास्तोलाले २२ रन बनाए । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । मनोज कोइराला १४, धिरज अधिकारी ४, आशिष न्यौपाने २३, पुर्णबहादुर जिटी ६, प्रविन ढकाल ५, कविन सापकोटा १८, विजय विक १, दिपेश खत्री १४ र शिखर चालिसे शुन्यमा आउट भए । रितेश बरालले ३ रन जोडे ।
कास्कीका लागि रिजन बस्नेतले ७ ओभरमा २९ रन खर्चदै सर्वाधिक ५ विकेट लिए । विश्वास पराजुलीले ५.४ ओभरमा १८ रन खर्चदै ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्की क्रिकेट क्लबले ५० आभेरमा ४ विकेट गुमाउँदै ३५१ विशाल योगफल तयार गर्यो । कास्कीका लागि अर्जुन कुमालले १५१ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । अर्जुनले १२८ बलमा १८ चौका र ३ छक्काको मद्धतमा १५१ रन बनाएका हुन् ।
रोहित चन्दले ८८ रनको अविजित पारी खेले । उनले ८६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे । यस्तै अदित्य थापा २२ रनमा नटआउट रहे । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । सोहिले कुँवरले ३३ रनको पारी खेले उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सफल श्रेष्ठ २० रनमा आउट भए । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे भने आयुष सैञ्जु १४ रनमा आउट भए ।
माछापुच्छ्रेका लागि कविन सापकोटाले ८ ओभरमा ६४ रन खर्चदै २ विकेट लिए । रितेश बराल र दिपेश खत्रीले समान १/१ विकेट लिए । जितसँगै कास्कीको कुल ४ अंक रहेको छ । कास्की समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो । यस्तै माछापुच्छ्रेको १ अंक छ । लेखनाथ यस अघिनै बाहिरि सकेको छ ।
१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सहयोग गरेको छ । उक्त प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेटका लागि जिल्ला छनोटको रुपमा समेत रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । भोलिको खेल समुह सि तर्फ अरण्यज्योती विरुद्ध राइजिङ क्रिकेट क्लबका बिच हुनेछ ।
तस्विरः सुदर्शन रञ्जित
