पोखरा रंगशालामा प्रदेश खेलकुदको प्रतियोगिता तथा प्रशिक्षण शाखा कार्यालय

पोखरा स्पोर्टस । पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद गण्डकीको प्रतियोगिता तथा प्रशिक्षण शाखा कार्यालयको स्थापना गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेको साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको कार्यालयमा प्रदेश खेलकुद परिषद गण्डकीले उक्त कार्यालय स्थापना गरेको हो । कार्यालय स्थापना भए संगै राखेप अन्तर्गत उपनिर्देशक पदमा कार्यरत बलराम लामालाई प्रतियोगिता तथा प्रशिक्षण शाखाको जिम्मेवारी दिइएको परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका छन् ।

राखेपको मिति २०८० जेठ २ गते र २०८० भदौ २८ गतेको निर्णय अनुसार अर्को निर्णय नभए सम्मका लागि देश भरिका राखेप र साविक क्षेत्रिय खेलकुद अन्तर्गत रहेका खेलकुद सरचनाहरु प्रदेशको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय भएको जनाउँदै सदस्य सचिब शर्माले उक्त निर्णय कार्यान्वयनमा ल्याउन लामो समय देखि प्रयास सफल भएको बताए । उनले भने–“खेलकुद संरचनाहरुको व्यवस्थापन अब प्रदेशले अघि बढाउँछ भने साविक क्षेत्रिय खेलकुद र जिल्ला खेलकुदमा कार्यरत कर्मचारी समायोजन नभए सम्मका लागि प्रदेश अन्तर्गत नै रहने गरी अघि बढ्नेछन् ।” पोखरा रंशगालाको व्यवस्थापन यस अघि नै प्रदेश खेलकुद परिषद अन्तर्गत आइसकेको छ । 

यसै क्रममा साविक क्षेत्रिय खेलकुदमा कार्यरत नासु डिवी नेपाली, कार्यालय सहायक मायाँ गुरुङ र भोज बहादुर श्रेष्ठलाई जिल्ला खेलकुद विकास समिति कास्कीमा कार्य गर्ने गरी तोकिएको जानकारी दिंदै सदस्य सचिब शर्माले इन्जिनियर अनिल अधिकारीलाई प्राविधिक शाखाको प्रमुखको जिम्मेवारी दिइएको बताए । गण्डकी प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा कार्यरत कर्मचारीहरु भने यस अघि नै प्रदेश खेलकुद परिषद अन्तर्गत नै कार्यरत रहेका थिए ।

पोखरा रंगशालामा प्रशिक्षण शाखा स्थापना भए संगै सबै खेलकुदहरुको प्रतियोगिता संचालन, प्रशिक्षणको व्यवस्थापन संगै प्रशिक्षकहरुको परिचालन गर्न तथा खेलाडीहरुको समस्याहरु समेत एकै ठाउँबाट समाधान गर्न सहज हुने सदस्य सचिब शर्माले बताए । “यो निकै महत्वपूर्ण थियो । परिषदको संरचनामा प्रशिक्षण विभाग रहे पनि कार्यान्वयनमा आउन सकेको थिएन । आजबाट यो विधिवत रुपमा संचालनमा आएको छ यसले प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिने छ खेलकुद पूर्वाद्धार व्यवस्थापन विवाद समेत अन्त्य भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close