
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबिए) द्वारा आयोजित ‘युथ मेन्स एन्ड उमेन्स् बक्सिङ च्याम्पियनसिप २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै पोखराकी निशिका गुरुङले सहभागिता जनाउने भएकी छन् ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पोखराबाट महिला बक्सिङतर्फ निशिकाले पहिलोपटक सहभागिता जनाउने भएकी हुन् । हालै मात्र नेपाल बक्सिङ महासङ्घले गरेको छनोट प्रतियोगितामा उनी छनोटमा पर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेकी हुन्। उक्त प्रतियोगिता मोन्टेनेग्रोस्थित बुदाभे शहरमा यही कार्तिक ४ देखि २१ गतेसम्म सञ्चालन हुँदै छ ।
प्रतियोगितामा निशिकासहित पुरुषतर्फ अप्रिल राना र चेवाङ तामाङले समेत सहभागिता जनाउने छन् । यसैगरी प्रतियोगितामा प्रमुख प्रशिक्षकको रुपमा प्रकाश थापा मगर रहेका छन् भने प्रशिक्षकमा सुजित मगर र पोखरेली अग्रज प्रशिक्षक लोकबहादुर गुरुङ टोलीमा सहभागी छन्।
निशिकाले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएपछि कास्की जिल्ला बक्सिङ सङ्घले खुसी व्यक्त गरेको छ । पोखरा स्पोर्टस सँग कुराकानी गर्दै कास्की जिल्ला बक्सिङ सङ्घका अध्यक्ष सुमन श्रेष्ठले यो ऐतिहासिक क्षण भएको बताए। उनले भने-“लामो अन्तरालपछि पोखराको एक महिला यूवा खेलाडीले अन्तर्राष्ट्रिय एरिनामा सहभागिता जनाउँदै छन् । यो हाम्रो लागि महत्वपूर्ण विषय हो। हामी निशिकाको जितको शुभकामना दिन चाहन्छौं।”
नेपाली ६ सदस्यिय टोली आज (शनिबार)का दिन मोन्टेनेग्रो प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले जनाए ।
