
पोखरा स्पोर्टस । यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु सहभागी हुने निश्चित भएको छ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनको आयोजनमा ओलम्पिक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा तीन नेपाली ड्राइभरले सहभागीता जनाउने भएका हुन् ।
विभिन्न दर्जनौ इभेन्ट मध्ये उक्त प्रतियोगितामा नेपाली टिमले दुइ छुट्टा छुट्टै इभेन्टमा सहभागिता हुनेछ । ई–स्पोर्टस जिटि इभेन्टमा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालममा प्रतिस्पर्धा गर्ने भएका छन् । निकै चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, र स्पिडको उनीहरुले प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
सुरुवातमा कार्टस् ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम–रेसिङ्गका उत्कृष्टमध्येका ड्राइभर हुन भने कृष्ण प्रसाद पौडेल एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिपका प्रतिस्पर्धि र एथलेट कमिसनका संयोजक समेत हुन । त्यसैगरी बैंक अफिसर रहेकी प्रज्ञा नेशनल अटोक्रसकी सफल प्रतिस्पर्धि तथा मोटरस्पोर्टस् लाइसेन्स होल्डर ड्राइभर हुन् ।
प्रत्येक २–२ वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका खेलाडीहरुसंग नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । यो प्रतियोगिता नेपाली खेलाडीहरुका लागि ठूलो अवसरको रुपमा हेरिएको र मोटरस्पोर्टसका विश्वप्रसिद्ध ड्राइभरहरुसंग नेपाली ड्राइभरहरु भिड्ने रोमाञ्चकता र इतिहास बनाउने अवसर समेत प्राप्त गर्ने नेपाल अटोमोवाइल्स एसोसिएसनले विश्वास गरेको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने रहनेछन् ।
