
पोखरा स्पोर्टस । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आफ्नो टिममा समावेश गर्न ‘गण्डकी हिरोज’ दरखास्त आह्वान गरेको छ ।
पोखरा एभेन्जर्सले गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको खुल्ला छनोट गरी ‘गण्डकी हिरोज’ टिमका लागि खेलाडी छनोट गर्ने जनाएको हो । उक्त दरखास्त यहि कार्तिक २ गतेबाट सुरु भएर कार्तिक १० गतेसम्मका लागि आह्वान गरिएको छ ।
आफ्नो टिममा गण्डकी प्रदेशकै खेलाडीहरुलाई मौका दिन पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको अध्यक्ष सुवोध त्रिपाठीले जनाएका छन् । उनले भने–“हामी स्थानिय खेलाडीहरुलाई मौका दिन चाहन्छौं । जसले स्थानिय क्रिकेटको बिकास संगै खेलाडीहरुको उत्पादनमा समेत टेवा पुग्न सकोस ।”
ग्रासरुटबाटै खेलाडीहरु पोखरा एभेन्जर्समा समावेश गर्न र वर्ष भरी नै उनीहरुले क्रिकेट खेल्ने वातावरण समेत तयार गर्न यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्दै अध्यक्ष त्रिपाठीले यो अवधारणाले नेपाली क्रिकेटको जग बलियो बनाउन समेत भूमिका खेल्ने उल्लेख गरे । ट्यालेन्ट हन्ट अन्तर्गत ५ जना खेलाडीहरु छनौट गरी उनीहरुलाई यो वर्षबाट सुरू हुने नेपाल प्रिमियर लिगमा समेत मौका दिने गरी अघि बढाइएको उनले जानकारी दिए ।
पोखरा एभेन्जर्सले मार्की खेलाडीको रुपमा कुशल भुर्तेल रहेका छन् भने त्यस्तै गरी सागर ढकाल, सुनाम गौतम, आकाश चन्द, दिलिप नाथ, विपिन खत्री, किरण ठगुन्ना, नारायण जोशी, दिनेश खरेल, अमृत गुरुङ र ट्रिटराज जोशी रहेका छन् । मुख्य प्रशिक्षकमा आइपिएल अन्तर्गत टिम चेन्नई किंङ्सका प्रशिक्षक राजीव कुमार छन् । त्यसै गरी सहायक प्रशिक्षकमा रिजन प्रजु अनुबन्ध भइसकेका छन् । टिमले पहिलो विदेशी खेलाडीको रुपमा अमेरिकी खेलाडी एन्ड्रिज गुसलाई भित्राएको छ ।
