
पोखरा स्पोर्टस । पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय एक दिवशिय पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा वर्षा बाधक बन्दा लेखनाथ क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब अङ्क बाँडन बाध्य भएका छन् ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी दोस्रो दिनको समुह ‘बी’को खेल निर्धारित समयमा सुरु हुन नसकेपछि खेलाइएको २५–२५ ओभरको खेल समेत दोस्रो इनिङ चलिरहँदा रोकिन पुगेको हो । वर्षा बाधक बन्दा लेखनाथ क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लबले समान १–१ अङ्क बाँडेका छन् ।
निर्धारित समय भन्दा साढे २ घन्टा सुरु भएको खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले टस जितेर ब्याटिङमा उत्रिएको थियो ।
माछापुच्छ्रेले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतीमा १६२ रन बनायो । लामो समय देखि मैदान बाहिर रहेका दिपेश खत्रीले माछापुच्छ्रेका लागि पारीको सुरुवात गर्दै २४ बलमा ३ चौकाको मद्धतमा २४ रन बनाए भने मनोज कोइरालाले ३६ बलमा १ चौका र ३ चौका प्रहार गर्दै ३१ रनको योगदान दिए । त्यस्तै अभिषेक थापाले २० रन बनाए । कबिन सापकोटाले ४० बलमा २८ रन बनाउँदा धिरज अधिकारीले ६, आशिष न्यौपाने नट आउट १४ र रितेष बरालले २ रन जोडे ।
माछापुच्छ्रेले ३७ रन अतिरिक्त रनको रुपमा पाएको थियो । लेखनाथ क्रिकेट क्लबका बलर शुभाष बास्तोला ५ ओभरको स्पेलमा ३० रन दिएर १ विकेट हात पारे । विशाल तामाङ, प्रदिप प्रधान र आशिष बरालले समान १–१ विकेट लिए ।
यता १६३ रनको जितको लक्ष्य लिएर मैदानमा उत्रिएको लेखनाथको पारी १४.१ ओभरमा नै वर्षा बाधक बन्यो । खेल रोकिनु अघि लेखनाथले ३ विकेटको क्षतीमा ६७ रन जोडेको थियो । लेखनाथ क्लबका ओपनरद्वय अनुपम संगम र प्रताप थापा इनिङको सुरुवातमा नै समिटिन पुगे । ४ रन बनाएका अनुपम पहिलो ओभरको चौथो बलमा कबिन सापकोटाको बलमा क्याच आउट भए भने प्रताप इनिङको दोस्रो ओभरमा सत्कार चालिसेले बोल्ड गरे ।
तेस्रो क्रममा मैदान छिरेका बिकल बरालले भने सम्हालिएको पारी खेल्दै ३६ बलमा तीन चौका प्रहार गर्दै नट आउट ३२ रन बनाए । दिपक बराल ४३ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २३ रनमा रनआउट भए भने सचिन पौडेलले २ रन जोडे ।
शनिबारको खेल राइजिङ क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लबका बीच हुने अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
