
पोखरा स्पोर्टस । पोखरामा आजबाट सुरु भएको क्लबस्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाँडेका छन् ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लबस्तरीय एक दिवशिय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले १–१ अंक बाडेका हुन् । बुधबार परेको वर्षाका कारण मैदान भिजेको थियो । बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको दोस्रो इनिङको खेल चलिरहँदा पुनः वर्षा सुरु भएपछि दुवै टिमले अंक बाडेका हुन् ।

समूह ए तर्फको खेलमा टस जितेर व्याटिङ थालेको गत संस्करणको विजेता सांग्रिलाले २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन जोड्न सफल भएको थियो । सांग्रिलाका लागि ओपनर मेघनाथ खनालले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेल्दै आउट भए । उनले ५१ बलमा २ छक्का र ४ चौका प्रहार गरे । सिबृन श्रेष्ठले १४ रन जोडे । सुदिप पोडेलले २१ बलमा १ छक्का र १ चौकाको मद्धतमा २२ रन जोडे । अरुण अधिकारी ७ रनमा आउट भए । विपिन खत्री १३ रनमा र सर्तिक घिमिरे आउट भए । विराज दवाडी २० र सनम बुढा ६ रनमा नटआउट रहे ।
लेकसाइडका लागि यामलाल गिरी र सेख नजामुदिनले २–२ तथा सन्दिप तिमिल्सिनाले १ विकेट लिए ।
१४४ रनको विजयी लक्ष्य पाएको लेकसाइडको सुरुवात निकै खराब रह्यो । १७.२ ओभरको खेल सकिदा लेकसाइडले ६५ रन जोड्दा ८ विकेट गु्माइ सकेको थियो । सांग्रिला जित तर्फ बढ्दै गर्दा वर्षा भएपछि खेल रोकियो र दुवै टिमले अंक बाँडे । लेक साइडका ओपनर चन्दन सिंह २ रनमै आउट भएका थिए । सेख नजामुदिन शुन्यमै बोल्ड भए । विविन शर्मा पनि शुन्यमै आउट भए । सरोज चौधरी २७ रनमा आउट भए । उनले ५९ बलमा ४ चौका प्रहार गरे । रवि गुरुङ २ तथा खेमबहादुर गुरुङ र सन्देश शाही शुन्यमै पेभिलियन फर्किएका थिए । दोर्जे लामा २३ रनमा आउट भए । नविन खनाल १ रनमा नटआउट रहे ।
सांग्रिलाका लागि सिबृन श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । विराज दवाडी र सनम बुढाले समान १–१ विकेट लिए ।
१२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । संघमा आबद्ध क्लबहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । सो प्रतियोगितालाई नेपाल क्रिकेट संघले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा समेत राखिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशब पाठक र जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन बडगामीले अम्पायरद्वय भोजराज बराल र अर्जुन उपाध्यायलाई म्याच बल दिएर प्रतियोगिताको सुरुवात गरेका थिए । संघका अध्यक्ष संजय कान्त सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्षले स्वागत सहित कार्यक्रमको विषयमा आफ्ना भनाइ राखेका थिए भने केशब पाठकले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् ।
भोलिको खेल समुह बि तर्फको माछापुच्छे् क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लबका बीच हुनेछ ।
