नेपाल प्रिमियर लिग कस्को ? क्यानको की अख्तरको ?

पोखरा स्पोर्टस । नेपाली क्रिकेट फ्रेन्चाइज अन्तर्गत सुरु हुन लागेको नेपाल प्रिमियर लिगको स्वामित्व र आधिकारिकताका विषयमा चर्चा सुरु भएको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा आधिकारिक रुपमा दर्ता भएको नेपाल प्रिमियर लिगलाई लिएर सो प्रा.लीका अध्यक्ष आमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्रचार गरे पछि सो बारे चर्चा सुरु भएको हो । आगामी मंसिर १५ गतेबाट काठमाण्डौमा सुरु हुने नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट लिगको नाम ‘नेपाल प्रिमियर लिग’ शिर्ष नामको विषयमा अख्तरले क्यानलाई एक पत्र लेख्दै सो कम्पनी आफ्नो नाममा दर्ता भएको र कानुनी अधिकार आफू संग सुरक्षित रहेको बताएका छन् ।

क्यानलाई मंगलबार लेखेको पत्रमा अख्तरले कानुनी प्रक्रियाको कुरा उठाउँदै भनेका छन्–“नेपाल प्रिमियर लिगको सम्पूर्ण अधिकार मेरो हुनेछ भनी कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त प्रमाण पत्र प्राप्त गरेको कुरा ताहाँ समक्ष अवगत गराउन चाहन्छु । नेपालको संविधान अनुसार नेपाल राष्ट्र तथा राज्य अन्तर्गतका सम्पुर्ण नागरिकले देशको मूल कानुन संविधानले सुनिश्चित गरेको सम्पूर्ण अधिकार नागरिकले प्राप्त गर्नेछ । यदि सो अनुसार नभए कानुन द्वारा उपचार पाउने प्रावधान जनताकोलागी सुनिश्चित छ भन्ने कुरा अवगत नै होला ।”

नेपाली क्रिकेटलाई नजिकबाट माया गर्ने क्रिकेटप्रेमी भएको बताउँदै उनले क्यानलाई विभिन्न विषयमा ध्यानाकषर्ण गराउँदै पत्रमा भनेका छन्–“म पुर्व क्रिकेट खिलाडी तथा क्रिकेट लभर भएकै कारणले होला म क्रिकेट लाइ माया गर्छु । क्रिकेटलाई प्रोत्साहन गर्न चाहन्छु । विश्व सामु नेपाललाइ क्रिकेटको माध्यमले चिनाउन चाहन्छु र नेपाल क्रिकेट संघ द्वारा घोषणा गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता कानुन सम्मत वा सो अनुसार होस् भन्ने मेरो चाहना छ ।”

नामको आधिकारिकताका विषयमा कुरा उठाउँदै नेपालमा एनलिएल भव्यताका साथ सम्पन्न होस भन्ने चाहना आफूले राखेको बताउँदै अध्यक्ष अख्तरले लेखेका छन्– “एनपिएलका संचालक तथा एकल शेयर धनी आमीर अख्तर र क्यानका बीच आपसी सहमती तथा सम्झौता गरि नेपाल प्रिमियर लिग (एनपिएल) संचालन गर्नुहुन अनुरोध गर्दछु ।” नेपाल प्रिमियर लिग (एनपिएल) आफ्नो एकल कम्पनी रहेको र कुनै व्यक्ति तथा संघ संस्थाले उक्त नाम प्रयोग तथा कार्यन्वयनमा ल्याउन नपाउने भन्दै उनले भनेका छन्–“यदि त्यस्तो भएमा नेपालको प्रचलित कानुन वमोजिम न्यायिक निकाय समक्ष न्याय माग्न बाध्य हुनेछु ।”

नेपाल क्रिकेट संघ क्यानकै सहमतिमा सन २०१४ मा धनगढीमा नेपाल प्रिमियर लिग सञ्चालन भएको अवगत गराउँदै उनले पत्रमा क्यानलाई सात दिन भित्र आफ्नो कुरा प्रस्ट्याउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close