
पोखरा स्पोर्टस । जिल्ला ह्याण्डबल संघ पर्वतले आफ्ना पूर्व खेलाडीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच संघले ह्याण्डबल खेलका पूर्व खेलाडीहरुलाई स्वागत, सम्मान तथा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

ह्याण्डबल संघ पर्वतले हाल बेलायतमा रहेका पूर्व ह्याण्डबल खेलाडी पुरन गिरी, केदार जोशी र धर्मराज गुरुङलाई पर्वतमा ह्याण्डबल खेलको आरम्भ, विकास र विस्तारमा पुर्याएको योगदानको उच्च कदर गर्दै गृहजिल्लामा स्वागत तथा सम्मान गरेको छ ।
सम्मानित पूर्व खेलाडी गिरी हाल बेलायतमा बसोबास गर्दै आएका छन् । अन्तर्राष्टिय पर्वत समाजका संस्थापक अध्यक्ष रहि सकेका उनी बेलायतमा आफ्नो व्यवसाय संगै समाजसेवामा आफ्नो योगदान दिंदै आएका छन् । त्यस्तै वूर्व खेलाडी जोशी र गुरुङ बेल्जियममा आफ्नो व्यवसाय संगै समाजसेवामा संल्गन छन् ।
पर्वत जिल्लामा विसं २०४५ सालमा ह्याण्डबल खेलको प्रशिक्षण लिएर ह्याण्डबल खेलमा प्रवेश गरेका खेलाडीहरुलाई खोजी खोजी सम्मान गर्ने अभियान अन्तरगत यस प्रकारको कार्यक्रम आयोजना गरिएको जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सम्मानित पूर्व ह्याण्डबल खेलाडी गिरीले आफ्नो खेल जीवनको सुरुवात नै ह्याण्डबल खेलबाट भएको स्मरण गर्दै मुलुक बाहिर रहेपनि ह्याण्डबल खेललाई आफूले कहिल्यै बिर्सन नसक्ने बताए । जिल्लामा ह्याण्डबल खेलको विकास, सम्बर्द्धन र प्रवर्द्धनमा जिल्ला ह्याण्डबल संघले खेलेको भूमिका स्तुत्य रहेको बताउँदै उनले पर्वत जिल्लाको ह्याण्डबल खेललाई अघि बढाउन सहयोगका लागि जिल्ला ह्याण्डबल संघलाई नगद रु १ लाख रुपैया सहयोगस्वरुप उपलब्ध गराउने घोषणा गरे ।
आफूले जस्तै स्वदेशमा तथा विदेशमा रहनुभएका अन्य साथीभाइले पनि यसरी नै जिल्ला ह्याण्डबल संघलाई आर्थिक, भौतिक तथा नैतिक साथ समर्थन दिई ह्याण्डबल खेलको विकासका लागि हातेमालो गर्न उनले आह्वान गरे । जिल्ला ह्याण्डबल संघले गरेको सम्मानले आफू निकै नै भावुक बनेको र ह्याण्डबल खेलसँग जोडिएका विगतका दिनहरुको याद ताजा बनेर आएको उनको भनाई थियो ।
स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला अस्पताल पर्वतका अध्यक्ष शंकर गिरीले अग्रज दाजुहरुको पहलकदमीमा जिल्लामा ह्याण्डबल खेलको विकास तथा विस्तार भैरहेकोमा खुशी प्रकट गर्दै आगामी दिनमा जिल्लाका सबै पालिका र विद्यालयस्तरमा पनि ह्याण्डबल खेललाई विस्तार गर्नुपर्ने सुझाव दिए ।
जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष पहाडीले सबै सुभेच्छुक तथा पूर्व खेलाडीहरुको राय सुझावअनुसार नै जिल्ला ह्याण्डबल संघ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पहाडीले अग्रजहरुको सम्मान र अनुजहरुलाई प्रशिक्षित गर्दै जिल्लामा ह्याण्डबल खेलको विस्तारमा आफ्नो संघले काम गरिरहेको र यसै मर्मअनुरुप विदेशमा रहेर पनि ह्याण्डबल खेललाई नजिकबाट माया मान्नुहुने पूर्व खेलाडीहरुलाई संघले सम्मान गरेको जानकारी दिए ।
जिल्ला ह्याण्डबल संघका अध्यक्ष पहाडीको अध्यक्षता तथा सचिव रमेश श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व खेलाडीहरु धर्मराज गुरुङ, केदार जोशीसहित ज्ञानेन्द्रकुमार जोशी, केदारकुमार कर्माचार्य, उत्तम कर्माचार्य, प्रकाश कर्माचार्य, नारायण कुमाल, राजेश कुमाल, निलराज पुरी, डम्बर गिरीलगायतले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
