
पोखरा स्पोर्ट्स । पहिलो पटक आयोजित दृष्टिविहिन महिला टि–२० विश्वकप क्रिकेटमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेटको क्षतिमा ८७ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा नेपालले उपकप्तान विनिता पुनको विकेट मात्र गुमाउँदै ५.१ ओभरमै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि मनकेसी चौधरीले २२ बलमा अर्धशतक प्रहार गर्दै अविजित ६६ रनको उत्कृष्ट पारी खेलिन् । उत्कृष्ट प्रदर्शनका कारण उनी ‘उमेन अफ दि म्याच’ घोषित भइन् र नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरिन् ।
विनिता पुनले १३ रनको योगदान दिइन् । बलिङतर्फ कान्ती योगी डगौराले ३ विकेट लिँदै श्रीलंकाको इन्निङ धराशायी गरिन् भने विनिता पुनले पनि एक विकेट हात पारिन् ।
दृष्टिविहिन क्रिकेट संघ नेपाल (क्याब नेपाल)का महासचिव अमृत बरालले पोखरा स्पोर्टस संग कुरा गर्दै नेपालको यो ऐतिहासिक जितका लागि टिमलाई बधाई दिंदै यो जित दृष्टिविहिन महिला क्रिकेट र अपाङ्गता खेलकुदको विकासका लागि एक महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताए ।
नेपाली टिमको कप्तानी गीता पौडेलले सम्हालेकी छिन् । टिममा उपकप्तान विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका छन् ।
टिम व्यवस्थापनमा प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला र टिम म्यानेजर भगवती भट्टराई बराल रहेका छन् ।
नेपालको टोली दिल्लीमा पहिलो खेलपछि बैंगलोर प्रस्थान गरेको छ, जहाँ उसले कार्तिक २८ गते आयोजक भारतसँग खेल्नेछ । भारत र श्रीलंका संयुक्त रूपमा प्रतियोगिताका आयोजक हुन् ।
