सदस्य–सचिव र मुख्य प्रशिक्षकहरु बीच छलफल

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षक हरु संग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् ।

तर यता नयाँ प्रशिक्षक नियुक्त नहुँदा राखेपमा प्रशिक्षकहरुको संख्या घट्दै गएको छ । राखेपमा नै दर्ता भएका केही महत्वपूर्ण खेलहरुका प्रशिक्षक नै छैनन् भने अधिकांश प्रशिक्षक अवकाशको अन्तिम चरणमा छन् । राखेपमा हाल रहेका प्रशिक्षकहरु समेत ‘आउट डेटेट’ प्रशिक्षक मात्रै बाँकी छन् भने ओएनएम पास हुन ढिलाई हुनु र नयाँ प्रशिक्षक नियुक्तिका विषयमा समेत राखेप अझै मौन छ । राखेपमा नियुक्त भएका जिल्लास्थित अधिकांश प्रशिक्षकहरु जिल्ला खेलकुद विकास समितिको कार्यालयको कार्यभार सम्हालेका छन् । न त उनीहरुले नियमित प्रशिक्षण दिएका छन् न त उनीहरुलाई प्रशासनिक कार्यको अनुभव नै छ । त्यस्ता प्रशिक्षकहरुलाई कसरी परिचालित गर्ने भन्ने बारे राखेप केही वर्ष यता मौन छ । जसका कारण जिल्ला जिल्लाको प्रशिक्षण प्रभावित बनेको छ । तर राखेपको नेतृत्व भने प्रमुख प्रशिक्षकहरुलाई निर्देशन दिएर ठूलो माछो मारेको यर्थाथता रहेको छ । 

सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नु पर्ने सुझाउदै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा जोड दिएका छन् । उनले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।

वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको सदस्य सचिब घिसिङले बताए । सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा माहिनमा एक पटक बैठक समेत राख्ने बताए ।

छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।

सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ–आफ्नो खेलको अवस्था बारे जानकारी गराउदै समस्या बारे अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close