
पोखरा स्पोर्टस । पोखरालाई सहाशिक खेलकुद अन्तर्गत मोटर स्पोर्टसको गन्तव्य बनाउने उद्धेश्यका साथ ‘प्रथम गभर्नस कप सुपरमोटो’ रेस सुरु भएको छ ।
पोखरा रंगशालामा आयोजित उक्त प्रतियोगितामा शुक्रबारबाट ‘प्रेक्टिस रेस’बाट सुरुवात गरिएको आयोजकले जनाएको हो । मोटर स्पोर्टस नेपाल क्लबको आयोजनामा तथा गण्डकी प्रदेश अटोमोवाइल एसोसियसन (नासा गण्डकी)को सहकार्यमा सुरु भएको प्रतियोगितामा ५० जनाको सहभागिता रहेको छ ।
पोखरामा मोटरस्पोर्टस ट्रयाकको खाँचो बढ्दै
पछिल्लो केही वर्ष यता यूवा पुस्तामाझ मोटर स्पोर्टसको खेलको शौख यूवाहरुमा बढ्दै गए संगै पोखरामा समेत मोटर स्पोर्टसको ट्रयाकको आवश्यक्ता बढ्दै गएको नासा केन्द्रिय उपाध्यक्ष अनिल बरालले बताएका छन् । पोखरा स्पोर्टस संगको कुराकानीमा उनले नेपालमा नै मोटर स्पोर्टसका सिरिजहरु बढ्दै गएको बताउँदै कर्णाली र बागमतीमा ट्रयाक निर्माण कार्य अघि बढेको बताए । उनले भने–“मोटर स्पोर्टसको आकषर्ण ह्वात्तै बढेको छ । अब पोखरामा पनि ट्रयाक निर्माण गर्ने कुरामा अघि बढ्नुपर्छ ।”मोटरस्पोर्टसको आकषर्ण संगै रोड सेफ्टीको विषय प्रमुखताका साथ नासाले अघि बढाएको बताउँदै यसले यूवाहरुमा सकरात्मक सन्देश समेत गएको बताए । “अहिले प्रतियोगिता मात्रै होइन यस संगै सेफ्टीको विषयलाई नासाले प्रमुख विषय बनाएको छ”, उनले भने,“आम जनमानसमा सेफ्टी प्राथमिकतामा हुनुपर्छ भन्नेमा हामी दृढ संक्लपित छौं ।”
“एकातर्फ हामी खेलकुदको माध्यमबाट विश्वका खेलाडी नेपालमा बोलाएर यहाँको सहाशिक खेल पर्यटन प्रवर्द्धन गर्न चाहन्छौ भने अर्कातर्फ यूवाहरुलाई खेल मार्फत उनीहरुलाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने संगै रोड सेफ्टीको विषयलाई समेत आम जनमानसमा पुर्याउने उद्धेश्य हो ”, -उनले भने ।
भोली (शनिबार) हुने मुख्य प्रतिस्पर्धाको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
तीन छुट्टा–छुट्टै नेभिस, नेशनल र सुपरमोटो क्याटोगरी अन्तर्गत आयोजित प्रतियोगितालाई लायन्स क्लव अफ इन्टरनेशनल ‘जे’ ले सहकार्य गरेको छ । लायन्सले यूवाहरुलाई खेलकुद मार्फत शसक्तिकरण गर्न सहकार्य गरेको जनाएको छ ।
प्रतियोगितामा बिजेता हुने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्रका साथमा नगद समेत प्रदान गरिने छ । यसका साथै सर्वोत्कृष्ट हुने खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि पठाइने आयोजकको दावी छ ।
‘रोड रेसिङ च्याम्पियनसिप’ अन्तर्गत पोखरामा आयोजना भएको यो प्रतियोगिताको तेस्रो सिरिज हो । यस अघि दुई वटा सिरिज हरु बागमती प्रदेशमा सम्पन्न भइसकेका छन् ।
