
पोखरा स्पोर्टस । पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक काँश्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो ।
ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्र द्वारा सम्मान गरिएको छ । त्यसै गरी कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सय सहित पलेशालाई सम्मान गर्यो । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ तथा नेपाल तेक्वान्दो संघलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।



उनीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङलगायतले सम्मान गरेका हुन् ।
सम्मान पछि बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । उनले सो अवसरमा बोल्दै भने–‘गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई गत वर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको छ । पलेशा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले गण्डकी प्रदेशको खेलाडी नभए पनि उनलाई मासिक भत्ता उपलव्ध गराउने घोषणा गर्दछु ।’
नेपाली खेलकुदका लागि पलेशा प्रेरणाको स्रोत भएको जनाउँदै गण्डकी प्रदेश सरकारले खेलकुदको विकास र खेलाडीहरुको हितका लागि विभिन्न योजनाहरु अघि सारेको मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकारको तर्फबाट पलेशा सहितको टिमलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको जनाउँदै पोखरा पछिल्लो समय खेलकुदकोे हव बन्दै गएको बताए । उनले खेलकुदको विकासलाई यर्पटन प्रवर्द्धनको रुपमा समेत विकास गर्न सके पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदको हव बनाउन सकिने जनाए ।
त्यसै गरी पोखरा महानगर पालिकाका मेयर घनराज आचार्यले नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको बताउँदै यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताए । उनले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा पलेशाको सफलता महत्त्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणालगायतले आफ्ना भनाई राखेका थिए । सम्मान कार्यक्रम गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको् अध्यक्षतामा भएको थियो ।
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्द्धनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।
