ऐतिहासिक पदक विजेता पलेसालाई पोखरा महानगरद्वारा नगद सहित सम्मान

पोखरा स्पोर्टस । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु.२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरेका हुन् । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयूक्त आयोजना भएको सम्मान कार्यक्रममा पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो ।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर प्रमुख आचार्यले भने, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ ।’ भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उहाँले उल्लेख गरे ।

‘‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ’, प्रमुख आचार्यले भने, ‘तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रेरणा हो।’ महानगरपालिकाले प्रदान गरेको सम्मान पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताए । आइतबार पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको छ।

‘‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेका छौँ, आज पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेसालाई सम्मान गरेका छौँ, उनले भने, ‘पोखरा महानगरपालिका राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको सदैव साथमा रहनेछ।’

समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको मेयर आचार्यले बताए ।

नेपालको पर्यटन राजधानी पोखरा खेलकुदको पनि राजधानी शहर भएको उनले उल्लेख गरे । पोखरा सबै मौसममा हरेक खेल गतिविधिहरू सञ्चालन गर्न सकिने सहरका रूपमा उपयुक्त रहेको बताउँदै उनले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महानगरपालिकाले सहकार्य गर्दै आइरहेको बताए ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close