
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्सको अवलोकन गरेका छन् ।
बिहिबार पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा पुगेका मन्त्री थापाले त्यहाँ रहेको पूर्वाधारहरुको अवलोकन भ्रमण गरी जानकारी लिएका हुन् । अवलोकन भ्रमणका क्रममा गण्डकी र कास्की टेनिस संघका पदाधिकारीहरु संग भेट गरी टेनिसले गरेको विकास प्रति चासो राखेका थिए ।
टेनिसका पदाधिकारीहरु संगको भेटमा मन्त्री थापाले खेलकुद शारिरीक र मानसिक रुपमा स्वस्थ रहनका लागि महत्वपूर्ण रहेको जनाउँदै पोखराको टेनिस विकासमा भएको विभिन्न व्यक्ति र संस्थाहरुले गरेको योगदानको प्रशंसा समेत गरे ।
“म आफू प्रति पनि खेलकुदमा रुची राख्छु । स्वास्थ्य प्रति सचेत रहँदै विगत देखि नै मैले पनि खेलकुदलाई अभिन्न अङ्ग बनाएको छु”, मन्त्री थापाले भने–“अहिले पनि म दैनिक जिममा जाने गर्छु । तर त्यो मात्रै होइन । हामीले जुनसुकै खेलमा सहभागि हुँदा राम्रो हुन्छ ।”
कास्की टेनिसले गरेको प्रस्तावलाई मन्त्रालयले गम्भिर रुपमा अघि बढाउने बताउँदै मन्त्री थापाले टेनिसलाई ग्रासरुट बाटै अघि बढाउनका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाउँदै उनले टेनिसको विकासलाई दिर्घकालिन रुपमा अघि बढाउन समेत मन्त्रालय तयार रहेको जनाए ।
खेलकुद पर्यटन संग जोडिएको र पोखरा त्यसका लागि महत्वपूर्ण रहेकोले पनि टेनिसले खेल पर्यटन विकासमा योगदान दिनेमा विश्वस्त रहेको जनाउँदै भने–“पर्यटन प्रवर्द्धन गर्ने कार्य सरकारको हो । तर त्यो कार्य यहाँहरुले गर्नु भएको छ । सरकारको तर्फबाट यहाँहरुलाई बधाई र धन्यबाद दिन चाहन्छु । टेनिसको विकासका लागि अल्पकालिन र दिर्घकालिन रुपमा विकासका लागि प्रतिवद्धता जनाउँदछु ।”
मन्त्री थापा पोखरा रंगशाला टेनिस कम्लेक्समा गण्डकी टेनिसका अध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राज कुमार (राजु) गुरुङलगायतले स्वागत गरेका थिए ।
कास्की टेनिसका अध्यक्ष गुरुङले मन्त्री थापालाई स्वागत गर्दै टेनिस खेलको विकासमा गण्डकी प्रदेश सरकारले सहयोग गर्नेमा आफू विश्वस्त रहेको जनाए ।
