
पोखरा स्पोर्टस । एभरेष्ट महिला भलिबल लिगमा रसियन खेलाडी एलिसा टुबियक गण्डकी थण्डर्सबाट खेल्ने भएकी छन् ।
विदेशी खेलाडी भित्र्याउने क्रममा गण्डकीले रसियन अपोजिट हिटर एलिसालाई अनुबन्ध गरेको हो । यो संगै गण्डकीले पहिलो पटक आफ्नो विदेशी खेलाडीको नाम घोषणा गरेको समेत छ ।
एलिसा रसिया र क्यानाडाको घरेलु लिगमा चर्चित अनुहार हुन् । उनले क्यानाडाको योर्क युनिभर्सीटीबाट लगातार दुई सिजन, ओन्टारियो युनिभर्सीटी एथलेटिक्स प्रतियोगिता खेलेकी छन् । उनले रसियाकै भिस्वा लिगमा समेत खेलेकी छन् ।
एलिसा नेपालमा आएर भलिबल खेल्न पाउनु आफ्नो लागि महत्वपूर्ण क्षण रहने बताउँदै त्यसका लागि आफू तयार रहेको जनाएकी छन् । उनले भनेकी छन्–“म निकै उत्साहित छु । नेपालकै पहिलो फ्रेन्चाइज खेल खेल्न पाउनु महत्वपूर्ण हो ।”
यता पोखरा थण्डर्सका सौरभ केडियाले आफ्नो टिममा रसियन खेलाडी अनुबन्ध गर्न पाउनु खुसीको विषय रहेको बताए । उनले भने–“यो हाम्रो टिमको लागि महत्वपूर्ण विषय हो । पहिलो विदेशी खेलाडीको रुपमा हामीले एलिसालाई पाएका छौं । पोखरा थण्डर्स बलियो टिमको रुपमा आफूलाई स्थापित गर्नेछ ।”
यस्तै टिमका निर्देशक विकास खेतानले पोखरा थण्डर्समा एलिसालाई अनुबन्ध गर्न पाउनु महत्पूर्ण रहेको जनाउँदै अन्य दुई बिदेशी खेलाडीहरुको नाम छिट्टै सार्वजनिक गर्ने बताए ।
एलिसा टिममा अनुबन्ध भए संगै एभरेष्ट महिला भलिबल लिगमा आफ्नो बलियो उपस्थिती रहने दावी पोखरा थण्डर्सले गरेको छ । टिममा नेपालकी चर्चित राष्ट्रिय खेलाडी सरस्वती चौधरी मार्की खेलाडीको रुपमा रहेकी छन् । गण्डकीले यस अघि अन्य ८ जना खेलाडीहरुको नाम समेत घोषणा गरिसकेको छ ।
