सहारा खेलकुद पुरस्कार परशुरामलाई, उत्कृष्ट सदस्य लीलबहादुर

पोखरा स्पोर्टस । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम आचार्यलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता आचार्यलाई छनोट गरेको हो । उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

२०५० सालदेखि निरन्तर नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत हुन् । उनी यसअघि दर्जन बढी सम्मान र पुरस्कारबाट सम्मानित भइसकेका छन् । नेपाल टेलिभिजन उत्कृष्ट संवाददाता पुरस्कार चारपल्टै पाइसकेका छन् । भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायतबाट सम्मानित छन् ।

यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा लामो समयदेखि सहारामा आबद्ध छन् । महासचिव अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य थिए ।

सहारा क्लब स्थापनाको वार्षिकोत्सव अवसरमा भदौ ३० गते पुरस्कार तथा सम्मान अर्पण गरिने क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close