
पोखरा स्पोर्टस । गण्डकी प्रदेश अन्तर्गत जारी दोस्रो महिला टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र स्याङजा भिड्ने भएका छन् ।

शुक्रबार पोखरा क्रिकेट खेल मैदानमा अन्तिम राउण्ड रोविन लिगका खेल सम्पन्न भए संगै स्याङजा र कास्की उपाधि नजिक पुगेका हुन् । आज भएको पहिलो खेलमा स्याङजाले नवलपुरलाई ८ विकेटले पराजित गर्दा दोस्रो खेलमा कास्कीले पर्वतलाई ९५ रनले पराजित गर्दै एकतर्फी जित हात पारेको छ ।
खेलमा कास्कीले पर्वत संगको खेलमा टस जिती पहिला ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित २० ओभरमा कास्कीले ५ विकेटको क्षतिमा १२३ रन बनायो । कास्कीका कप्तान सृजना पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ५३ बलमा अविजित ४१ रन बनाउँदै इनिङ सम्हालिन् । अतिरिक्त रनमार्फत ४१ रन प्राप्त हुनु कास्कीका लागि थप फाइदा बन्यो ।
पर्वतका लागि जिबिका क्षेत्रीले ४ ओभरमा २७ रन दिँदै ३ विकेट लिए भने सुशीला भट्टराई र प्रतिभा खड्काले १–१ विकेट लिए ।
१३४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पर्वत महिला टोली कास्कीको धारिलो बलिङसामु १०.१ ओभरमै जम्मा २८ रनमै अलआउट भयो । पर्वतका कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । कास्कीकी सोनिमा पुन मगरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ८ रन दिएर ३ विकेट लिइन् । उनलाई उत्कृष्ट प्रदर्शनको आधारमा ूप्लेयर अफ द म्याचू घोषणा गरियो ।
कास्कीका अन्य बलर यशोदा भुजेल, रोजी परियार, चन्द्रमाया बराल, रचना चौधरी र रेखा तामाङले पनि १–१ विकेट लिँदै टोलीको जितमा योगदान दिए ।
फाइनल खेल भोली (शनिबार) हुने आयोजक प्रादेशिक क्रिकेट संघ गण्डकीले जनाएको छ । प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा भएको हो ।
