निर्देशिका र कार्यविधि नबन्दा दशौं राष्ट्रिय खेलकुद अन्यौलमा !

पोखरा स्पोर्टस । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ७४ दिन बाँकी हुँदा निर्देशिका र कार्यविधि नवन्दा थप अन्यौलता बढेको छ ।

कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अनौपचारिक रुपमा कर्णाली खेलकुद विकास परिषदले तयारी सुरु गरे पनि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भने कुनै औपचारिक घोषणा भने गरेको छैन । निर्देशिका नबन्दा कति र कुन–कुन खेल हुने भन्ने बारे अझै अन्यौल रहेको बताउँछन् प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा ।

प्रतियोगिताको तयारीका लागि बोर्ड बैठक बस्न समेत ढिलाई भएको बताउँदै सदस्य सचिब शर्माले निर्देशिका नवन्दा कति खेल हुने र कर्णालीमा हुन नसक्ने खेलहरु कहाँ आयोजना हुने बारे अन्यौल रहेको सदस्य सचिब शर्माले बताए । “अहिले पनि हामी निकै अन्यौलमा छौं” शर्माले भने–“कार्यविधि आएको छैन न त निर्देशिका नै जसका कारण पालिका, जिल्ला र प्रदेशस्तरीय छनौट कहिले गर्ने भन्ने बारे अन्यौल नै छ ।”

दशौं राष्ट्रिय खेलकुद छनौटका लागि आर्थिक वर्ष २०८१/०८२ का लागि परिषदमा १ करोड ८० लाख विनियोजन भएको जानकारी दिंदै सदस्य सचिब शर्माले पालिका, जिल्ला, प्रदेश स्तरीय छनौट र बन्द प्रशिक्षणका लागि करिव ६ करोड ८० लाख भन्दा बढि खर्च हुने बताए । उनले भने–“हामीले यो खर्च नवौं राष्ट्रिय खेलकुदको आधारमा तयार गरेका हौं । हामीले तयार गरेको खर्च विवरण र रकम उपलव्धताका लागि मन्त्रालय र राखेपमा समेत पठाएका छौं ।”

राखेप आयोजक भएकोले प्रदेशहरुलाई तयारी खर्च कति दिने भन्ने समेत यकिन नभएको बताउँदै अहिले सम्म आ–आफ्नो प्रदेशको खेल पोशाक खरिद गर्न भनिए पनि रकम नआउँदा सम्म अन्यौलमा नै रहेको उनको भनाई छ । “हामीले दशौंको तयारी र सम्पूर्ण खर्च बारे प्रदेश सरकारलाई अवगत गराएका छौं । मन्त्री ज्यू समेत यसका लागि सकरात्मक हुनुहुन्छ”, शर्माले भने–“हामी आन्तरिक रुपमा तयारीमा जुटे पनि राखेपको आधिकारीक पत्र नआए सम्म अघि बढ्न सकेका छैनौं । यो समस्या गण्डकीको मात्रै होइन सबै प्रदेशको हो । सबै प्रदेश खेलकुद परिषद अझै अन्यौल संगै पर्ख र हेरको स्थितीमा छन् ।” 

कर्णाली खेलकुद विकास परिषदले यस अघि घोषित मिति मंसिर २ गते सुरु हुने भनिएको प्रतियोगिता औनपचारिक रुपमा कार्तिक २७ गते सुरु गर्ने भन्दै २४ खेल मात्रै कर्णाली प्रदेशमा हुन सक्ने जनाएको छ । नवौ राष्ट्रिय खेलकुदमा भएका ३६ खेल र करिव एक दर्जन प्रदर्शनी खेलहरुको निरन्तरता समेत के हुने भन्ने बारे अझै अन्यौल रहेको छ । कर्णालीमा सुर्खेत सहित अन्य जिल्लामा गरी २४ खेल हुने भनिए पनि बाँकी खेलहरु कुन–कुन प्रदेश र जिल्लामा हुने अझै एकिन हुन सकेको छैन ।

प्याराग्लाइडिङ, स्क्वास, गल्फ, जिम्न्यास्टिक, टेनिस, आर्चरी, ट्रायथलन,, सुटिङ, साईक्लिङ, सफ्ट टेनिस, सेपाकताक्रो र फेन्सिङ खेल हुन स्थानमा गर्ने बारे राखेप अझै मौन छ । अन्य खेल भने कर्णाली प्रदेशका विभिन्न जिल्ला र सुर्खेतको नवनिर्मित रंगशालामा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close