एसियाली टेबलटेनिस च्याम्पियनसिपमा संयोग र इभाना

पोखरा स्पोर्टस । एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन् । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १–१ पुरुष/महिला गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका हुन् ।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट भए । दुवै शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् । एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ । सोही छनोट प्रतियोगिताबाट पुरुष/महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

यसै विच अखिल नेपाल टेबलटेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक विक्रेता ३६१ डिग्री सर्व सिद्धी इम्पेक्स प्रा.लि. का बीच सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई पोशाक प्रदान गर्ने भएको हो ।

टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाल र प्रा.लि.का निर्देशक सरोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ४ वर्षका लागि कायम रहने निर्देशक कार्कीले बताए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी टेबलटेनिस खेलाडीसहितको टोलीलाई पनि पोशाक प्रायोजन गरेको जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close