लामाचौर कप भलिबल : टिम जुट्नै समस्या, मणी मुकुन्द बाहिरियो (यस्तो छ खेल तालिका)

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा आकषर्णको रुपमा सञ्चालन हुँदै आएको ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ ।

नव आदर्श सामुदायिक विकास केन्द्रले प्रतियोगिताको एक दिन अघि सोमबार खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार पुरुषतर्फ सहभागिता जनाउने भएको मणिमुकुन्द क्लब बुटवलले अन्तिम समयमा नाम फिर्ता लिएको प्रतियोगिताका टेक्निकल डेलिगेट टहल सिंह थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

“मैले आइतबार नै खेल तालिका तयार गरिसकेको थिंए । तर अन्तिम समयमा मणीमुकुन्दले खेलाडी जुटाउन नसकेको भन्दै नाम फिर्ता लियो”–टेक्निकल डेलिगेट थापाले भने–“मणीमुकुन्दको स्थानमा ट्राभल इन्क्वारी गलकोट (टिआइजी)को टिमले सहभागिता जनाउने छ ।”

संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सञ्चालन हुने प्रतियोगितामा विभागिय टोली नेपाल आर्मीले समेत अन्तिम समयमा नखेल्ने भए पछि पुरुषतर्फ समेत् चार टिमको सहभागिता हुने छ ।

पुरुषतर्फ सञ्चालन हुने तेस्रो संस्करणमा ट्राभल इन्क्वारी गलकोट, दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब तथा गण्डकी प्रदेशको टिमले सहभागिता जनाउने छ ।

भोली मंगलबारबाट सुरु हुने पुरुषतर्फ पहिलो खेल ट्राभल इन्क्वारी गलकोट र एपिएफ क्लबका बिच हुनेछ भने दोस्रो खेल गण्डकीले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो दिन पुलिस क्लब र टिआइजी तथा उद्घाटन खेल गण्डकी र एपिएफ क्लबका बिच हुनेछ ।

पुरुषतर्फ नै तेस्रो दिनको पहिलो खेल टिआइजी र गण्डकीका बिच हुनेछ भने दुई विभागिग टोली पुलिस र एपिएफ आमने सामने हुनेछन् ।

त्यस्तै महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करणतर्फ मंगलबार पहिलो खेल एपिएफ क्लब र गण्डकीका बिच हुनेछ भने दोस्रो खेल टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लबका विच हुनेछ । दोस्रो दिन भदौ १९ गते न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेल एपिएफ र एभरेष्ट क्लबका विच हुनेछ । त्यस्तै तेस्रो दिन एभरेष्ट क्लब र गण्डकी तथा दोस्रो खेल न्यू डायमण्ड र एपिएफ क्लबका विच हुने खेल तालिका छ ।

प्रतियोगिताको चौथो दिन तेस्रो र चौथो हुने टिमको टुङ्गो लाग्नेछ भने फाइनल खेल भदौ २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी पुरुषतर्फ गण्डकीले उपाधि हात पारेको थियो । प्रतियोगिता आयोजनास्थल ब्यवस्थित बनाउन ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

भलिबल प्रतियोगितातर्फ महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close