लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता तयारी सुरु

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा आयोजना हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी सुरु हुँद सहभागि हुने टिमको भने अझै टुङ्गो लागेको छैन ।

नव आदर्श विकास समाजको आयोजना सञ्चालन हुने उक्त प्रतियोगिता बारे जानकारी दिन मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । संस्कृतीको संरक्षण संगै मनोरन्जन र खेलकुदलाई समेत जोडेर संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सञ्चालन हुने महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण हुने छ ।

संस्थाका प्रथम उपाध्यक्ष एवं प्रचार प्रशार उपसमितिका संयोजक दिनेश भण्डारीले ११ औं सस्करणको लामाचौर कप महिला राष्ट्रिय भलिबलमा तीन विभागिय सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब सहित न्यू डायमण्ड, यूथ स्पोर्टस क्लब, न्यू एभरेष्ट क्लब र बुटवलको एक टिमलाई पत्रचार गरिएको जनाएका छन् ।

त्यसै गरी पुरुषतर्फ समेत तीन विभागिय सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब सहित मणीमुकुन्द क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघलाई पत्रचार गरिएको आयोजकले जानकारी दिएको छ ।

पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा संचालन हुने छ । महोत्सवको पहिलो दिन भदौ १८ गते देखि महिलातर्फको प्रतिस्पर्धा सुरु गर्ने तयारी आयोजकले गरेको छ भने १९ गतेबाट पुरुषतर्फको प्रतिस्पर्धा हुनेछ ।

गत वर्ष सम्पन्न दोस्रो सस्करणमा नेपाल प्रहरी बिजेता रहेको थियो भने पुरुषतर्फ गण्डकीले उपाधि हात पारेको थियो । प्रतियोगिता आयोजनास्थल ब्यवस्थित बनाउन ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिने आयोजकको भनाई छ ।

भलिबल प्रतियोगितातर्फ महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि अध्यक्ष स्वागत सिंह भण्डारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । जसमा १६ उपसमिति छन् । संचारमा दिनेश भण्डारी, खेलकुदमा शंकर केसी, अर्थ संकलनमा बुद्धिबहादुर खत्री क्षत्री, महिला परिचालनमा गीता थापा, तीज महोत्सव संरक्षण कोषमा नवीन भण्डारी, स्वागत सत्कार एवं सांस्कृतिकमा खुसीमान गुरुङ, समन्वय विशेष तथा महोत्सव अनुगमनमा मिलन केसी, कार्यालय तथा बजार व्यवस्थापनमा मोहन केसी, मञ्च व्यवस्थापनमा प्रेमबहादुर गुरुङ, ज्येष्ठ नागरिक दिवा सेवा तथा हेरचाह केन्द्र, खाजा एवं भान्सामा चन्द्रबहादुर गुरुङ, आकस्मिक तथा सरसफाइमा थिरबहादुर थापा, परियोजनामा गुप्तबहादुर केसी, शिक्षा तथा श्रष्टा सम्मानमा कृष्ण गुरुङ, युवा परिचालनमा सचिन केसी, टिकटमा कमलबहादुर थापा, ब्यानरमा राजकुमार पौडेल संयोजक चुनिएका छन् ।

महोत्सव सम्पन्न गर्न करिव ५५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close