
पोखरा स्पोर्टस । मित्रराष्ट्र भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले पहिलो दिन ८ स्वर्ण जितेको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाईनलमा भारतलाई पराजित गरेका थिए । त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए ।
यस्तै जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसंग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंका संग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए । सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र बहादुर खपाङगीले जानकारी दिएका छन् ।
यस अघि प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेलले गरेका थिए।
भुटान सहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको उक्त प्रतियोगितामा नेपालको तर्फवाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ्ग, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरु, बरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिव १ दर्जन अफिशियलहरुको सहभागीता रहेको छ ।
