
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को १००औं वर्षको अवसरमा पोखरामा यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा १७ विरौटामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक तथा मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता हुन जानकारी गराए ।
प्रतियोगितामा स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोल्)ि र शनिबार आयोजना हुने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा हालसम्म महिलातर्फ २२ जना र ८८ जना पुरुष खेलाडीको सहभागिता रहेको छ । ‘यो स्विस लिगको आधारमा खेलाइने रेपिड रेटिङ टुर्नामेन्ट हो । प्रतियोगिताको उत्कृष्ट ३ जनालाई हामी विशेष प्रशिक्षणको व्यवस्था समेत गर्नेछौं । जसले १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी छनौटमा समेत टेवा पुग्नेछ ।’ क्षेत्रीले भने ।
प्रतियोगितामा प्राप्त गर्ने अंक अन्तर्राष्ट्रिय बुद्धिचालको वारियतामा समेत रहनेछ । अर्थात खेलाडीले प्राप्त गरेको अंक विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वारियता) मा समावेश हुनेछ ।
प्रतियोगितामा यु–१० तर्फ २५जना, यु–१६ तर्फ २५जना, यु–१९ तर्फ ४५जना र खुल्ला तर्फ १३ जना सहभागि हुनेछन् । खुल्लातर्फको विजेताले नगद दुई हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौ हुनेले समान पाँच–पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीका लागि एक हजार र ट्रफी पुरस्कार रहेको छ ।
यस्तै यु१०, १६ र १९ मा प्रथम हुनेले भने पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए । उनका अनुसार ९ चरणको खेलमा जसले सबैभन्दा बढी अंक ल्यायो उही प्रथम हुनेछ ।
पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितालाई फिडे, नेपाल बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघले अधिकार दिएको छ । प्रतियोगितामा राधाकृष्ण कार्भिङ र अनमोल दुग्ध उद्योगले सहयोग गरेको छ । दुई दिन चल्ने प्रतियोगिता पोखरा १७ विरौटास्थित ग्यालेक्सि बेन्क्युटमा हुनेछ ।
