ह्याण्डबल ट्रफी ग्रहण गर्दै सदस्य सचिबले भने–‘जुनियर प्रतियोगिता खाँचो छ’

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरुले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनु पर्ने मंगलबार बताएका छन् ।

भारतको जयपुरमा भएको आईएचएफ ट्रफीमा कांस्य पदक जित्न सफल यु–१८ टोलीलाई बधाइका साथै सोही प्रतियोगितामा सहभागी यु–२० ह्यान्डबल टोलीको स्वागत गर्न आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘हरेक खेल संघले घरेलु जुनियर प्रतियोगिता आयोजनामा जोड दिनु पर्छ । जुनियर प्रतियोगितालाई ध्यान नदिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा सम्भव हुँदैन ।’ सदस्य–सचिव घिसिङले भने– ‘राष्ट्रिय टिम बलियो बनाउन पनि जुनियर प्रतियोगितामा जोड दिनै पर्छ ।’

सो अवसरमा सदस्य–सचिव घिसिङले पुराना पदाधिकारीसहित राष्ट्रिय खेल संघमा युवा नेतृत्व पनि आउनु पर्ने धारणा व्यक्त गर्दै भने–‘खेल संघमा युवाहरु पनि नेतृत्वमा आउन जरुरी छ । पूर्व खेलाडी, प्रशिक्षक, रेफ्री संघको पदाधिकारीका रुपमा आउनु पर्छ । पुराना पदाधिकारी पनि चाहिन्छ । मिलाएर एउटा टिम बनाउनु पर्छ,’ उनले थपे– ‘पुराना साथीहरुले पनि म भए सबै ठीक, अरु भए बेठीक भन्ने सोच त्याग्नु पर्छ ।’

सदस्य–सचिव घिसिङले पदक विजेता टोलीका साथै सहभागी टोलीका खेलाडीलाई सीमित श्रोत र साधानका बावजुद उच्च प्रदर्शन गरेकोमा प्रशंसा गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडी, प्रशिक्षक र व्यवस्थापकसंग प्रतियोगितामा सहभागी हुँदाको अनुभव, खेलाडीको प्रदर्शन तथा घाइते खेलाडी बारे चासो व्यक्त गर्दै खेलाडीको उपचारमा विशेष ध्यान दिन संघलाई निर्देशन दिए ।

जुलाई १० देखि १४ तारिखसम्म भएको प्रतियोगितामा यु–१८ तर्फ तेश्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३०–२८ ले पराजित गरेको थियो । यु–२० मा भने तेश्रो स्थानका लागि नै भएको खेलमा माल्दिभ्सले नेपाललाई हराएको थियो । दुवै उमेरसमूहमा नेपालबाट पुरुष टोलीले सहभागिता जनाएको थियो । टोली मंगलबारै स्वदेश फर्किएको हो ।

यु–१८ खेलाडी टोली
सोनिश तामाङ, हविन छन्त्याल, रोशन विक, विवेक थापा, ऋतिक परियार, प्रसनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, निरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा ।

यु–२० खेलाडी टोली
प्रलेश गुरुङ, सुदिप घले, निशान परियार, मनीषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राणा, दबिन जुग्जाली पुन, मिलन खवास, मनीष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दीपेश खड्का र सुमित राणा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close