
पोखरा स्पोर्टस । स्याङजाको स्वरेकमा भोली (असार १९) गते हुने भनिएको गण्डकी प्रदेशस्तरीय प्याराग्लाइडिङ स्थगित भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुदको तयारी अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको थियो । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष एवं परिषदका सदस्य समेत रहेका बसन्तराज दवाडीले प्राविधिक कारणवश स्थगित गर्नुपरेको जनाएका छन् ।
स्याङजा स्वरेकस्थित बाबु एडभेन्चर प्याराग्लाइडिङ स्कुलको खेल मैदान प्रयोग गर्ने गरी अन्तिम तयारी सकिए संगै एक दिन अगावै असार १९ गते गर्ने भनिएको प्रतियोगिता विशेष कारणले स्थागित भएको अध्यक्ष दवाडीले जानकारी दिए ।
“प्रतियोगिता हुन्छ । तर अहिले केही समयका लागि प्रतियोगिता स्थगित गरेका छौं”, उनले भने–“हामी छिट्टै प्रतियोगिताको सूचना प्रकाशित गर्ने छौं ।”
प्रतियोगिताको तयारी सुरु गरेका खेलाडीहरुलाई धैर्यताका साथ अर्को सूचना सम्मका लागि पर्खिन उनले आग्रह गरे ।
