‘स्कुल टु ओलम्पिक’ कार्यक्रम बाग्लुङमा सम्पन्न

पोखरा स्पोर्टस । नेपाली ओलम्पियन र विद्यार्थीहरुका बीचको सम्बाद कार्यक्रम ‘स्कुल टु ओलम्पिक’ बाग्लुङमा सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा बाग्लुङ नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै बाग्लुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नेपाललाई चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको जनाए । उनले भने–“मेरो देश सगरमाथा, लुम्बिनी र अधिक जलस्रोत भएको देश भए पनि हामी पछि परेका छौं”–उनले प्रश्न गर्दै थपे–“हामी सक्षम हुँदा हुँदै पनि किन पछि परेका छौं ? देश चिनाउन ठूलो नेता र ज्ञानी मानिस मात्रै भएर नहुँदो रहेछ । तर एक कुशल खेलाडी देशले उत्पादन गर्न सक्यो उसैले देश चिनाउँछ । त्यसैले पनि खेलकुदको भूमिका महत्वपूर्ण छ ।”

६० वर्षे ओलम्पिक यात्रामा नेपाली खेलाडी मध्ये गण्डकी प्रदेशबाट ९ जनाले ओलम्पिक पुग्ने सपना पुरा गरेका जनाउँदै प्रमुख श्रेष्ठले एक खेलाडी अन्तर्राष्ट्रिय ऐरिना खेल्दै गर्दा सिङ्गो नेपाल खेल्ने बताए । खेल जगतबाटै नेपाललाई विश्वमा चिनाउन प्रमुख माध्यम रहेको जनाउँदै उनले भोलीका कर्णधारहरु विद्यार्थीहरुका बीच बाटै निस्कने बताए । उनले खेलकुदका माध्यमबाटै गरिव भन्दा गरिव देशहरु समेत विश्वमा चिनिएको बताउँदै नेपाली खेलाडीहरुले समेत नेपालको शिर उच्चो हुने गरी त्यो गरिमा कायम गर्न सफल रहनेमा आफू विश्वस्त उनको भनाई थियो ।

सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले स्कुल टु ओलम्पिक कार्यक्रमले यूवाहरु माझ खेलकुदमा प्रेरित गर्न भूमिका खेलेको बताउँदै खेलकुद हार र जितको मात्रै साधन नभएको बताए । उनले खेलकुदलाई शिक्षा संगै जोड्नु पर्ने औंल्याउँदै खेलाडी उत्पादनको मुख्य थलो विद्यालय नै रहेको बताए । स्कुल टु ओलम्पिक कार्यक्रमले यूवा खेलाडीहरुलाई शिक्षा संगै खेलकुदमा जोड्ने अभियानमा महत्वपूर्ण रहेको जनाउँदै ओलम्पियन र विद्यार्थी बीचको सम्बन्ध नजिक बनाउन र विद्यार्थीहरुलाई खेलकुदमा आकर्षण गर्न कार्यक्रम फलदायी रहनेमा जोड दिए ।

सदस्य सचिव शर्माले खेलकुदमा वर्षेनी घट्दै गएको बजेट प्रति चिन्ता ब्यक्त गर्दै बजेट घटेको बारे हरेक जनप्रतिनिधीलाई सोध्ने बेला आएको बताए । उनले भने–“चाहे संघिय सरकारले होस वा प्रदेश सरकारले खेलकुदको बजेटमा कञ्जुस्याँई गरेका छन् । हरेक वर्ष प्रतिशतका आधारमा बजेट घट्दै गएको छ । जसका कारण खेलकुद विकासको गति अवरुद्ध बन्न सक्छ । अब हामीले बजेट घटेको बारे जनप्रतिनिधीहरुलाई प्रश्न गर्ने बेला आएको छ ।”

कार्यक्रममा बाग्लुङका सहायक प्रजिअ चित्राङ्गत बराल, प्रदेश खेलकुद परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्य, बाग्लुङ नगर पालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारी, जिल्ला खेलकुदकी उपाध्यक्ष समिक्षा थापाले समेत आ–आफ्ना भनाई राख्दै परिषदले खेलकुद विकासका लागि विभिन्न गतिविधि मध्येको एक स्कुल टु ओलम्पियन कार्यक्रम महत्वपूर्ण र फलदायी हुनेमा विश्वस्त रहेको जनाएका थिए ।

बाग्लुङमा सम्पन्न स्कुल टु ओलम्पिक कार्यक्रममा बाग्लुङ नगरपालिका लगायत छिमेकी पालिकाका विभिन्न विद्यालयका २ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । सम्बाद कार्यक्रममा विद्यार्थी र ओलम्पियनहरुका बीच निकै रोचक सम्बाद एवं अन्तक्रिया समेत भएको थियो ।

स्कुल टु ओलम्पियन कार्यक्रममा सहभागिता रहेका ओलम्पियनहरु टिका बोगोटी, राजेन्द्र भण्डारी, भगवती केसी खत्री, ऋषीराम प्रधान, सिताराम शाही ठकुरी, यूथ ओलम्पियन मनिषा अधिकारीले विद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए । कार्यक्रममा ओलम्पियनहरुले आ–आफ्नो खेल जिवन र खेलकुदले पारेको सकरात्मक प्रभाव बारे विद्यार्थी तथा सहभागिहरुलाई सुनाउँदै शिक्षा संगै खेलकुद जिवनमा किन आवश्यक छ भन्ने विषयलाई प्रमुखताका साथ राखेका थिए ।

बाग्लुङमा सम्पन्न उक्त कार्यक्रम ओलम्पियन भगवती केसी खत्रीले संयोजन गरेकी थिइन् । परिषदको वार्षिक कार्यक्रम अन्तर्गत बाग्लुङमा आयोजना भएको यो दोस्रो कार्यक्रम हो । परिषदले यस्तै प्रकारको कार्यक्रम नवलपुरको मध्यविन्दुमा समेत आयोजना गरिसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close