
पोखरा स्पोर्टस । निजी विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखरा १० बुद्धचोकस्थित सोसल पब्लिक स्कुलद्वारा आयोजित ‘एसइई छात्र–छात्रा बास्केटबल प्रतियोगिता’ सम्पन्न भएको छ ।

अविरल वर्षाका कारण एक दिन ढिलो गरी सम्पन्न फाइनल स्पर्धामा छात्रतर्फ कास्की बास्केटबल एकेडेमी (केबिए) तथा छात्रातर्फ मर्दी खोला टिम बिजयी भएका छन् ।
बिहिबार सम्पन्न फाइनलमा केबिएले काठमाण्डौको रिन्चिन टिमलाई ३३–३० को स्कोरले पराजित गर्दै बिजयी हुँदा छात्रातर्फ मर्दी खोलाले स्पार्कट्रमलाई १२–२ ले फाइनलमा पराजित गर्न सफल भएको विद्यालयका संस्थापक धोज कुमार गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगितामा बिजेता टिम केबिएले नगद रु १५ हजार उपविजेता रिन्चिनले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । त्यस्तै छात्रातर्फ मर्दी खोलाले नगद रु १० हजार र उपविजेता स्पार्कट्रमले नगद रु ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
पोखरा रंगशालामा दुई दिन सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ६ टिम गरी २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा मस्ट भेलुएबल प्लेयर छात्रतर्फ केबिएका अबिनाश पुर्जा र छात्रातर्फ मर्दीखोलाकी युविना श्रेष्ठ बन्न सफल भए । त्यसै गरी मर्दी खोलाकी अक्की क्षेत्रीले सर्वाधिक स्कोर गर्दा रिन्चिनका पदक भट्टराईले सर्वाधिक स्कोर गरे ।
बिजेता खेलाडी टिमलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, विद्यालयका संस्थापक निर्देशक खिम गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष एवं विद्यालय संस्थापक धोज कुमार गुरुङ, कास्की बास्केटबलका सल्लाहकार नारायण प्रसाद शर्मा, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
२०५३ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखि प्लस टु (११–१२) कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको र प्लस टु (११–१२) कक्षातर्फ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र क्म्प्युटर साइन्स सम्वन्धि अध्ययन अध्यापन हुँदै विद्यालयका संस्थापक निर्देशक खिम गुरुङले जानकारी दिए ।
विद्यालयले आफ्नो स्थापना समय देखि नै शिक्षा संगै खेलकुद लगायत विभिन्न कृयाकलाप समेत सक्रियता पूर्वक सञ्चालन गर्दै आएको छ भने बिहिबार एसइईको नतिजा प्रकाशित भए संगै कक्षा ११ मा भर्ना अभियान समेत सुरु गरिएको विद्यालयले जनाएको छ ।
