
पोखरा स्पोर्टस । पोखरामा ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता” सुरु भएको छ । पोखरा बहुउद्धेश्यिय कभर्ड हलस्थित ह्याण्डबल म्याटमा उक्त प्रतियोगिता सुरु भएको हो । नेपाल हक्की संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा उक्त प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

पहिलो चरण अन्तर्गत पहिलो दिनको खेलमा घरेलु टोली गण्डकीले एकमा जित एकमा हार निकाल्दा, विभागिय टोली नेपाल आर्मीले आफ्ना दुबै खेल जितेको छ ।
उद्घाटन खेलमा गण्डकी विभागिय टोली नेपाल पुलिस क्लब संग ३–१ ले पराजय भएको छ । खेलमा नेपाल पुलिसका सुरेश प्रसाद जोशीले १४ र १८ मिनेटमा दुई गोल गरे भने अर्को गोल रोमन रानाले खेलको ३० औं मिनेटमा गरेका थिए । गण्डकीका लागि एक मात्र गोल खेलको २३ औं मिनेटमा पवन परियारले गरेका थिए । खेलमा रोमन प्लेयर अफ दि म्याच बने ।
तर एक अर्को खेलमा घरेलु टोली गण्डकी बिजयी भएको छ । प्रतियोगिता अन्तर्गत नै भएको पहिलो चरणको छैटौं खेल तथा आफ्नो दोस्रो प्रतिस्पर्धामा गण्डकीले कोशी प्रदेशलाई गण्डकीले ६–० को भारी गोल अन्तरले पारजित गरेको हो । खेलका गण्डकीका अशिक बाहेकले ह्याट्रिक गरे । उनले खेलको ७, १५ र २० औं मिनेटमा गोल गरे भने म्याच अफ दि प्लेयर समेत रहेका प्रेम विकले एक गोल गर्दा कुशल नेपालीले २ गोल गरे ।
यस्तै विभागिय टोली आर्मीले कर्णाली प्रदेश विरुद्ध ५–० ले जित निकालेको छ भने बागमती प्रदेश विरुद्ध ८–० ले जितेको हो । कर्णाली विरुद्धको खेलमा दिपेन्द्र ऐरले ह्याट्रिक पुरा गरे । उनले खेलको ९, १२ र १३ मिनेटमा गोल गर्दा खेलको १४ औं मिनेटमा प्रदिप राजवंशी र एक गोल २५ औं मिनेटमा अमर बहादुर गुरुङले गरे । खेलमा दिपेन्द्र प्लेयर अफ दि म्याच घोषित भए । त्यस्तै बागमती संग भएको खेलमा प्लेयर अफ दि म्याच समेत रहेका दिपेन्द्र राजवंशीले ४ गोल गरे भने अमर बहादुर गुरुङले २ गोल गर्दा राजेन्द्र कार्की र दिपेन्द्र ऐरले १–१ गोल गरे ।
प्रतियोगिता अन्तर्गत नै भएको खेलमा मधेश प्रदेश बिजयी भएको छ । बागमती विरुद्धको खेलमा ३–० ले बिजयी भएको हो । खेलमा अजय शाहले खेलको २ मिनेटमा नै मधेशका लागि खाता खोले भने सविर शेख र रुपेश राईले टिमका लागि थप १–१ गोल गरे ।
यस्तै बलियो मानिएको लुम्बिनीलाई कोशीले २–० गोलले पाखा लगाएको छ । खेलमा मणीकुमार विश्वकर्मा र उत्तम चमारियाले समान १–१ गोल गरे ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब टंकलाल घिसिङले आफू संधै खेलाडीहरुको सारथी बन्ने बताएका छन् । नेपालको इतिहास बोकेको खेल हक्कीलाई नजिक बाट हेरिरहेको बताउँदै भने–“नेपाली खेलाडीहरुलाई सम्मान गर्न कानुन नै निर्माण गरेर हामी अघि बढेका छौं । यहाँहरु आ–आफ्नो खेलबाट अघि बढनुहोस् । म यहाँहरुको सारथी बनेर यहाँहरुको साथमा रहनेछु ।”
समाजले खेलाडीहरुलाई हिरोको रुपमा हेरेको र खेलाडीहरुनै समाजको अग्रभागमा रहेकोले निरन्तररुपमा अघि बढ्न समेत सुझाव दिंदै सदस्य सचिब घिसिङले आफू सदैव हक्कीको विकासका लागि सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने–“पोखरामा विभिन्न प्रतियोगिताहरु निरन्तर भइरहेका छन् . पोखरा खेलकुदको हव बनाउँदै व्यवसायिक खेलकुदको विकास संगै यसको उचाई बढाउन समेत परिषद तयार रहेको छ ।”
सदस्य सचिब घिसिङले यूग पुरुष स्व. गिरिजा प्रसाद कोइराला प्रति श्रद्धा र सम्मान व्यक्त गर्दै आगामी दिनमा समेत यो प्रतियोगिता निरन्तर जारी रहने समेत बताए ।
सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले खेलकुदमा प्राप्त बजेट प्रति असन्तुष्ट व्यक्त गर्दै संघिय र प्रदेश सरकारबाट हरेक वर्ष प्रतिशतमा बजेट घटेर आउनु दुःखद भएको बताए । उनले खेलकुदमा घटेको बजेट विरुद्ध खेलाडीहरुले आवाज उठाउनु पर्ने भन्दै पोखरामा यस प्रकारका कार्यक्रम हुनुले खेलकुदको विकासमा सहयोग पुग्ने उल्लेख गरे ।
नेपाल हक्की संघका अध्यक्ष उद्घाटन कार्यक्रम अनिल प्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
यहि असार १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागिग टोलीसहित विभिन्न ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५० हजार, उपबिजेताले नगद रु ३० र तेस्रो हुने टिमले नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
छैन हक्की खेल्ने स्तरीय मैदान
नेपालमा न त आउट डोर न त इन्डोर दुबैस्तरका हक्की खेल्ने मैदान छैनन् । पोखरामा इन्डोर हक्की ह्याण्डबलको म्याटमा खेलाइदै छ । उक्त म्याट १३ औं दक्षिण एसियाली खेलकुदमा राखेपले ६५ लाख खर्चिएर खरिद गरेको हो । हक्की संघले बारम्बार राखेप र नेपाल सरकार संग पूर्वाद्धार बारे आवाज उठाउँदै आएको छ । तर पूर्वाद्धार नहुँदा ह्याडबल म्याटमा हक्की खेलाउनु राखेपकै उपहास भएको खेल विज्ञ बताउँछन् । ह्याण्डबल खेलको मुख्य केन्द्र समेत रहेको पोखरामा रहेको देशकै एक मात्र ह्याण्डबल म्याट विग्रिदै गएको छ भने सोही म्याटमा फुटसललगायत मार्शल आर्ट, सेपाकताक्रो, भलिबल समेत हुँदै आएका छन् ।यस्तै पोखरा बहुउद्धेश्यिय कभर्ड हल निर्माण सम्पन्न भएको १० वर्ष पनि नपुग्दै मुख्य खेलस्थलमा नै जमिन भासिएर भ्वाङ्ग समेत पर्दै गएको छ । केही हद सम्म म्याट बाक्ले भएको कारण म्याटले सतह धानीरहेकोले ठूलो दुर्घटना भने हुन पाएको छैन । तर राखेपले ह्याण्डबल म्याटका कारण जमिनमा प्वाल परेको हास्यास्पद कुरा गर्दै आएको छ । ह्याण्डबल म्याट निकाल्ना साथ बहुउद्धेश्यिय कभर्ड हल मर्मत सम्भार नगर्दा सम्म सदाका लागि बनद हुनेछ भने राज्यको करौडौको लगानी समेत खरानी बन्ने छ ।
