
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालामा सुरुभएको प्रतियोगितामा कास्की र स्याङजाले जित हासिल गरेका छन् ।
पहिलो खेलमा पर्वतलाई हराउँदै कास्कीले विजयी सुरुवात गरेको हो । एक सय रनको विजयी लक्ष्य दिएको पर्वतलाई १४.१ ओभरमा ५० रनमा अलआउट गरेको हो ।
एन्जल अधिकारीले ५ रन बाहेक अन्य ब्याट्सम्यानले पाँच भन्दामाथि अंक जोड्न सकेनन् । कास्कीका लागि पुर्णिमा गुरुङले ३ विकेट लिइन । चन्द्रमाया बरालले ३ ओभरमा १ मेडनसहित २ विकेट लिइन् । यशोदा भुजेल २, रचना चौधरी र सिम्रीका चौधरीले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १५ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनायो । कास्कीका लागि चन्द्रमाया बरालले १८ रनको अविजित इनिङ खेलिन् । उनले २२ बलमा २ चौका प्रहार गरिन् ।
पर्वतका लागि सुशिला भट्टराईले दुई तथा कृषा अखेल, विपाशा विक र जिविका अधिकारीले समान १/१ विकेट लिए ।
दोस्रो खेलमा ३८ रनको विजयी लक्ष्य पछ्याएको स्याङजाले ५।२ ओभरमा १ विकेट गुमाउँदै ४० रन बनाउँदै जित हासिल ग¥यो । स्याङजाको लागि युनिशा सेनले सर्वाधिक २६ रनको योगदान दिदैँ आउन भइन् । ओपनर कुशुम गोदार ६ र ज्योतस्निका मरासिनी ४ रनमा अविजित रहिन् ।
नवलपुरको लागि पुजा लामिछानेले २ बलमा ४ रन खर्चेर १ विकेट लिइन् ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको नवलपुरले २० ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनायो ।
नवलपुरका लागि धनकुमारी क्षेत्री ९ रन अविजित रहिन् । स्याङजाका लागि सिमाना केसीले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर २ विकेट लिइन् । निरु जिटी र अपेक्षा बुढाथोकीले समान १–१ विकेट लिइन् ।
