‘ओलम्पिक डे’मा माउन्ट अन्नपूर्णले बास्केटबलसहित विविध प्रतियोगिता आयोजना गर्ने

पोखरा स्पोर्टस । ‘ओलम्पिक डे’को सन्दर्भमा पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण माविले बास्केटबलसहित विविध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यालयले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले सोमबार एक कार्यक्रम गरी यहि असार ७ र ८ गते पोखरामा बास्केटबलसहित बक्तृत्वकला र निवन्ध प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

विद्यालयका प्रधानअध्यापक एवं कार्यक्रमका संयोजक सइन्द्रकुमार श्रेष्ठका अनुसार बास्केटबलतर्फ छात्र–छात्राका प्रतिस्पर्धा हुनेछन् । छात्र बास्केटबलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद रु २० हजार, १० हजार र ५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद रु ९ हजार, ६ हजार र ३ हजार प्राप्त गर्ने विद्यालयले जनाएको छ ।

यसै गरी ‘रोल अफ ओलम्पिक गेम्स’ विषयक बक्तृत्वकला प्रतियोगिता असार ६ गते आयोजना गरिएको छ । अग्रेंजी भाषामा आयोजना हुने उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश नगद रु ७, ५ र ३ हजार, सान्तवनाहुनेलाई नगद १ हजारका साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रोग्राम डाइरेक्टर अशोक शाहीले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत नै हुने निवन्ध लेखन प्रतियोगिता ‘वर्तमान समयमा ओलम्पिक खेलको भूमिका’ विषयमा हुनेछ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश नगद रु ७, ५ र ३ हजार, सान्तवनाहुनेलाई नगद १ हजारका साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । निवन्ध लेखन प्रतियोगिता समेत असार ६ गते हुनेछ ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले आधुनिक खेलकुदको जगलाई बलियो बनाउन यो दिवश महत्वपूर्ण रहेको जनाउँदै समाजको हरेक अङ्गमा खेलकुदलाई स्थापित गर्न ओलम्पिक अभियानले भूमिका खेलेको बताए ।

सो अवसरमा विद्यालयका सञ्चालक समितिका पूर्व अध्यक्ष चिजकाजी गुरुङ, स्पोर्टस फर अल कमिसनका अध्यक्ष खड्ग बहादुर रानाभाटले विद्यालयले ओलम्पिक ‘डे’को अवसरमा आयोजना गर्ने खेलकुद कार्यक्रमले समाजमा खेलकुद अभियानलाई जोड्न सहयोग पुगेको उल्लेख गरे ।

विद्यालयले शैक्षिक सत्र २०८० मा एस.इ.ई दिएर बसेका विद्यार्थीहरुलाई सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । विद्यालयले बास्केटबल छात्रतर्फ २० र छात्रातर्फ १० भन्दा बढि टिमको सहभागिता हुन सक्ने जनाएको छ । बास्केटबलमा असार ६ गते सम्म टिम दर्ताका लागि समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close