
पोखरा स्पोर्टस । राष्ट्रिय खेल भलिबललाई उमेर समुहबाटै बलियो बनाउने गरी नेपालमा पहिलो पटक आयोजना यू–१९ (१९ वर्ष मुनी)को खेलाडी छनौट कार्यक्रम गण्डकीमा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा पोखरा रंगशालामा सम्पन्न दुई दिने खुला छनौट कार्यक्रममा महिलातर्फ १२ र पुरुषतर्फ १२ गरी २४ जना खेलाडी छनौट गरिएको हो । संघका महासचिव एवं अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापा मगरका अनुसार छनौट कार्यक्रम सम्पन्न गरी टिमको घोषणा समेत गरिएको पोखरा स्पोर्टसलाई जानकारी दिए ।
छनौट प्रतियोगिताबाट महिलातर्फ बागलुङका आशिका खत्री र ऐलिन घर्ती, कास्कीका स्माइल पुन, शोभा पाइजा, सम्पदा गुरुङ र मनिषा राई, स्याङजाकी सोइङ थापा, नवलपुरका पृथ्वी गाहा मगर र अनुजा सारु, म्याग्दीका रिक्जना बोटे र सजिना बुढाथोकी तथा पर्वतकी विष्णु क्षेत्री रहेका छन् ।
त्यसै गरी पुरुषतर्फ बाग्लुङका चार खेलाडी छनौटमा परेका छन् । छनौट हुनेमा सलोन चन्द, सूर्य विक, राजु परियार र सुपेन्द्र परियार, स्याङजाका जित बहादुर सुनार र सन्देश सुनार, मनाङका शुसिल सुनार, अश्विन सुनार र तेजेन्द्र कुंवर, नवलपुरका विश्वास अधिकारी, पर्वतका प्रताप परियार र तनहुँका युक्सन थापा रहेका छन् ।
छनौटमा परेका खेलाडीहरुको टिम गण्डकीको सन्तुलित टिम रहेको महासचिव थापाले बताए । उनले भने–“नेपाली यू–१९ भलिबल खेलको इतिहासमा नै यो हाम्रो पहिलो यात्रा हो । हामीले गण्डकीको सन्तुलित टिमको घोषणा गरेका छौं । सिनियर खेलमा जस्तै उमेर समुहको यो पहिलो यात्रालाई जितमा परिणत गर्न हाम्रो प्रयास रहनेछ ।”
दुई दिन सम्म सञ्चालन भएको छनौट प्रतियोगिताका बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहकार नारायण शर्मा,, पूर्व सचिव डिबी नेपाली, कार्यक्रमका संयोजक राजेन्द्र जिसीलगायतले पदक र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा विभिन्न ९ जिल्लाका २ सय भन्दा बढी खेलाडीहरुले खुल्ला छनौटमा आफ्नो भलिबल खेलको शिप प्रदर्शन गरेका थिए ।
जिल्ला–जिल्लाबाट टिम तथा खेलाडीहरु छनौटमा आफ्नै खर्चमा पोखरा आएका थिए । प्रतियोगितामा केही जिल्लाले जिल्ला भलिबल संघको खर्चमा समेत टिम लिएर पोखरा आउँदा आर्थिक रुपले समस्या भएको गुनासो गरे पनि भलिबल खेलको विकासका लागि उमेर समुहको खेल महत्वपूर्ण रहेको बताउँदै स्वत्तस्फूर्त सहभागिता जनाएको बताए ।
उमेर समुह उक्त प्रतियोगिता सहाना प्रधान स्मृति प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा यहि असरा ९ गते देखि १६ गते सम्म काठमाण्डौमा सञ्चालन हुनेछ ।
छनौटमा परेका सबै २४ जना खेलाडीहरु असार ७ गते बिहान सम्म पोखरमा नै बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको महासचिव थापाले बताए । गण्डकीको टोली असार ७ गते नै काठमाण्डौ प्रस्थान गर्नेछ ।
