
पोखरा स्पोर्टस । पोखरामा यू–१९ महिला तथा पुरुष भलिबल खेलाडीहरुको छनौट प्रतियोगिता शनिबारबाट सुरु भएको छ । नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको महिला तथा पुरुष यू–१९ भलिबल प्रतियोगिताका लागि खेलाडी छनौट सुरु गरिएको हो ।

राष्ट्रिय खेल भलिबललाई उमेर समुहबाटै बलियो बनाउने गरी सहाना प्रधान स्मृति प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा यहि असरा ९ गते देखि १६ गते सम्म काठमाण्डौमा ‘यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सञ्चालन हुने गण्डकी प्रदेश भलिबल संघका महासचिव एवं अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहलसिंह थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“नेपाली भलिबल खेलको इतिहासमा पहिलो पटक परिक्षणको उमेर समुह (यू–१९)को राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । हामी स्रोतको अभाव हुँदा हुँदै पनि यूवा खेलाडीहरुलाई मौका दिन र उनीहरुको पहिचान प्रस्फूटित गर्न यो प्रतियोगिताका लागि खेलाडी छनौट गर्दैछौं” महासचिव थापाले भने–“यो छनौटका लागि हामीले खुल्ला आह्वान गरेका थियौं । जिल्लाबाट आएका टिम खेलाडी र छुटेकाहरुलाई समेत समाहित गर्दै टिम बनाएर खेलमा सहभागि गराएर सबैलाई छनौटमा सहभागिता जनाउन समान अवसर दिएका छौं ।”
गण्डकी प्रदेश भलिबल संघको आयोजनामा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १२ र पुरुषतर्फ १२ गरी २४ जना खेलाडी छनौट गरिने महासचिव थापाले बताए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भइरहेको छनौट प्रतियोगितामा मनाङ र लमजुङ बाहेक ९ जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला तर्फ कास्की फाइनलमा पुगेको छ भने म्याग्दी र बागलुङको बिजेता कास्की संग भिड्नेछ । त्यस्तै पुरुष यू–१९ तर्फ बागलुङ फाइनलमा स्थान बनाउँदा स्याङजा र तनहुँ अन्तिम चारमा प्रवेश गरेका छन् । सेमीफाइनल र फाइनल खेल आइतबार सम्पन्न हुनेछ ।
छनौट भएका खेलाडीहरुलाई असार ६ गते सम्म बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको महासचिव थापाले बताए । गण्डकीको दुई टिम असार ७ गते काठमाण्डौ प्रस्थान गर्नेछ ।
असार ९ गतेबाट सुरु हुने प्रतियोगितामा विजेता टिम महिला र पुरुषतर्फ समान नगद ३ लाख, उपविजेताले २ र तेस्रो हुने टिमले नगद रु १ लाख प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने खेलाडीले जनही रु २५–२५ हजार र विद्यागतरुपमा उत्कृष्ट हुनेले जनही रु १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
