दशौं राष्ट्रिय खेलकुद कर्णालीसंगै देशकै ठूलो इभेन्ट– मुख्यमन्त्री कँडेल

पोखरा स्पोर्टस । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशसंगै देशको पनि ठूलो इभेन्ट भएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, सरोकारवालालगायतको उपस्थितिमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुदको सन्दर्भमा भएको बैठकमा मुख्यमन्त्री कँडेलले सो कुरा बताएका हुन् ।

उनले तोकिएको मिति नसर्ने गरी राष्ट्रिय खेलकुद आयोजनाको तयारी अगाडि बढाउनु पर्नेमा जोड दिदै सबैले आ–आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

खेलकुद मन्त्री श्रेष्ठले चुनौतीपूर्ण बजेटमा धेरै काम गर्नु पर्ने बाध्यता रहेको बताउदै ढृढ इच्छाशक्ति, समन्वय र सहकार्य राम्रो भयो भने चुनौतीलाई पार गर्न सकिने धारणा व्यक्त गरे ।

सदस्य–सचिव टंकलाल घिसिङले विगतको कमीकमजोरीलाई नदोहो¥याउनेमा सचेत रहेको बताउदै कर्णाली प्रदेशको अपनत्व भएको छ भन्ने गरी सन्देश दिन जरुरी रहेको बताए । सदस्य–सचिव घिसिङले १० औं राष्ट्रिय खेलकुदका लागि केन्द्रबाट भएका प्रगति बारे प्रकाश पारेका थिए ।

खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले संघीय मन्त्रालयको जिम्मेवारी पूरा गर्न खेलकुद मन्त्रालय गम्भीर र प्रतिबद्ध रहेको बताए ।

सोमबार नै खेलकुद मन्त्री श्रेष्ठ र सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close