
पोखरा स्पोर्टस । सहारा युकेका अध्यक्ष कुमार गुरूङ ‘आदर्श तमु अवार्ड-२०२१’ बाट शनिवार युकेमा सम्मानित भएका छन् ।
युके स्थित नेपालीहरुको गौरवमयी संस्था तमु धिं युके द्वारा स्थापित उक्त अवार्ड यस वर्ष सहारा युकेका अध्यक्ष गुरूङलाई प्रदान गरिएको हो । तमु धिं युकेको परोपकारी कार्यक्रम मध्ये हरेक वर्ष आयोजना हुने ‘च्यारिटी डिनर नाइट’को भव्य समारोहमा अध्यक्ष गुरूङलाई आदर्श तमु अवार्ड बाट सम्मान गरिएको छ । उनी विगत ७ वर्ष देखि निरन्तर तमु धिंको सल्लाहाकारको भूमिकामा छन् भने २००७ देखि २०१४ सम्म कार्य समिती सदस्यको भूमिकामा रहेका थिए ।

सन २००७ बाट तमु धिं मार्फत समाज दिएको उल्लेख्य योगदान संगै संस्थाको सर्वोपरिताका १५ वर्ष देखि निरन्तर योगदानको कदर स्वरुप अध्यक्ष गुरूङलाई सम्मान गरिएको तमु धिंले जनाएको छ । १७ जुन १९६९ मा वुवा काजिमान र आमा गंगा गुरुङको कोखबाट हङकङमा जन्मिएका उनको पुर्ख्यौली घर कास्कीको धम्पुस हो । सन २०१९ बाट सहारा युकेको अध्यक्षमा पदासिन गुरूङ बेलायती सेनाबाट ‘फर्ष्ट रोयल गोर्खा राइफल’ बाट ‘कलर सर्जेन्ट’ रेन्कमा सन २००७ जनवरीमा अवकास भएका थिए । सेनाबाट अवकास भए संगै उनी तमु धिं बाट सामाजिक सेवाको यात्राको थालनी गरेका थिए ।

तमु धिंले आयोजना गर्ने गोर्खा कप, नेपाली मेला, च्यारिटी डिनर कार्यक्रम, ल्होसार महोत्सव लगायतका महत्वपूर्ण कार्यक्रमहरुमा गुरूङको संल्गनता संगै ति कार्यक्रमहरुको सफलताका लागि महत्वपूर्ण योगदान दिएको तमु धिंका अध्यक्ष हितकाजी गुरूङले बताए । उनले भने–“कुमारजीको तमु धिंमा योगदान अतुलनिय छ । उहाँले तमु धिंका हरेक कार्यक्रमहरुलाई सफलताका सम्पन्न गर्न होस वा तमु धिंको नेतृत्वमा नेपालमा भएका दैवी प्रकोप भुकम्प, वाढी, पहिरोहरुमा राहत तथा उद्धारका लागि सहयोग संकलनको भूमिकामा रहेर होस ।” यस संगै शिक्षा, खेलकुद र स्वास्थ्य सेवाको उन्नयन र विकासमा समेत उनको योगदानको महत्वपूर्ण रहेको तमु धिंका अध्यक्ष गुरूङले बताए ।
तमु आदर्श अवार्ड बाट सम्मानित भए पछि पोखरा स्पोर्टस संग कुरा गर्दै सहारा युकेका अध्यक्ष गुरूङले तमु धिं बाट सम्मानित हुन पाउनु आफैमा गर्वको विषय रहेको बताए । उनले तमु धिंका अध्यक्ष तथा पदाधिकारीहरुलाई आफूले गरेको कामको मुल्याङ्कन गरेकोमा आभार व्यक्त गर्दै भने–“यहाँहरुको प्रेरणाले मलाई संधै सत्कर्म र सामाजिक यात्राको बाटोमा लाग्ने थप हौसला मिलेको छ ।” कार्यक्रममा अध्यक्ष गुरूङ संगै उनकी धर्मपत्नी मिना गुरूङलाई समेत सम्मान गरिएको थियो ।
बेलायतस्थित नेपाली राजदुताबासकी काउन्सिलर/डिसिएम तथा प्रवक्ता रोशन खनाल, तमु धिंका अध्यक्ष हितकाजी गुरूङले अध्यक्ष कुमार गुरूङलाई सम्मान गरेका थिए।
स्मरणिय के छ भने गत वर्ष सहारा युकेका उपाध्यक्ष रि.ले कुशाङ गुरूङ आदर्श तमु अवार्ड बाट सम्मानित भएका थिए ।
