पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटिको मुख्यालय भएको काठमाण्डौ उपत्यकामा ओलम्पिक डेको औपचारिक शुभारम्भ भए पनि अन्य प्रदेश र जिल्ला भने यो दिवश मनाउने सन्दर्भमा सुनसान जस्तै देखिएका छन् ।
ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको भए पनि अन्य प्रदेशहरु सुनसान जस्तै देखिएका हुन् । मुलुक संघिय संरचनामा गइसके पनि विशेष गरी खेलकुद क्षेत्र ओलम्पिक भने यो मामिलामा भने मौन जस्तै भएका कारण यो दिवश काठमाण्डौ केन्द्रित जस्तै भएको हो ।
नेपाली ओलम्पिक कमिटिले काठमाण्डौ उपत्यका बाहिर ओलम्पिक अभियानलाई गफ र कागजमा सिमित गरे पछि ओलम्पिक अभियान अन्य प्रदेश र जिल्लाहरुमा कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान चरितार्थ जस्तै भएको छ । विगतमा पोखरा लगायत केही शहरहरुमा यो अभियानले गति लिए पनि ओलम्पिक दिवशलाई खेल क्षेत्रमा प्रचार प्रसार गर्न ओलम्पिक विफल बनेको खेलकुद क्षेत्रकाले बताउँदै आएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको छ । पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको छ । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झण्डोत्तोलन गरे ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष ज्योती राणाले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिन् । यस्तै कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड टोलीबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । यस्तै दधिकोट स्कुलका छात्राबाट बाँसरीमा मंगल धुन प्रस्तुत गरिएको थियो ।
मंगलबजारबाट विभिन्न स्कुलका विद्यार्थीहरुले मार्चपास गर्दै सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा पुगेका थिए । स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुवातदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर ओलम्पिक डे मनाउने गर्छ ।
‘“आजदेखि हामीले नेपालमा ओलम्पिक डे २०२४ को औपचारिक सुरुआत गरेका छौँ । यसअघि नै केही कार्क्रमहरु सुरु भईसकेका छन्”– श्रेष्ठले भने । श्रेष्ठले स्कुलमा पढ्ने बालवालिकालाई सानै देखि सही मार्गमा अघि बढाउन र खेलकुलको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । यस्तै ड्रग र विसंगति जस्ता खराब क्रियाकलापबाट रोक्न पनि यस कार्यक्रमले सहयोग गर्ने उनले बताए ।
श्रेष्ठका अनुसार नेपालको सात वटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरु विभागीय टोली प्रि स्कुलहरुसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गरिने बताए पनि पहिलो ओलम्पिक डेको पहिलो दिनमा पोखरा लगायत अन्य शहरमा कुनै कार्यक्रम हुन सकेका छैनन् ।
विशेष गरी प्रदेश र जिल्लाहरुमा अन्य संघसंस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा ओलम्पिक डेको झण्डा टाँगेर त्यसैलाई औपचारिकता दिने प्रयास गरिने विगतका कार्यक्रमहरुमा देखीएका छन् । कागजमा सिमित ओलम्पिक डेका हजारौं कार्यक्रमहरु बारे नेपाल खेलकुद क्षेत्र भने त्यती जानकार छैन ।
गत वर्ष ३ हजार २ सय ७३ कार्यक्रम आयोजना गरिएको र यस वर्ष ४ हजार एक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै विद्यार्थीहरुलाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।
नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ । ओलम्पिक डे को दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने छ ।
