
पोखरा स्पोर्टस । विश्वकप टि–२० क्रिकेट टोली लिएर अमेरीका हिंडेको नेपाल क्रिकेट संघ (क्यान)ले खेल भन्दा पनि मोजमस्तीमा ध्यान बढाए पछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गम्भिर रुपमा ध्यनाकर्षण गराएको छ ।
.राखेपले क्यानलाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न÷गराउन शुक्रबार ध्यानाकर्षण गराएको हो । क्यान टोली राष्ट्रिय टिम नै लिएर विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागि हुन थाले पछि यस्तो ध्यनाकर्षण गराएको छ । विश्वकप जस्तो खेलमा पुगेको नेपाली टोली लिएर गएको क्यानले खेलको व्यवसायिकतातर्फ ध्यान नदिई अन्य गतिविधिमा ध्यान दिनुले खेलाडीको स्तर खस्किने भन्दै राखेपले चिन्ता समेत व्यक्त गरेको छ ।
‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरुपले केन्द्रीत भइ उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यहरु गर्नुपर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी गराउनाले टिमको व्यवसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षण भएको छ ।’ राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।
राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन÷नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रीत भइ आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ ।
नेपाली क्रिकेटको इतिहासमा दोश्रो पटक सहभागी भएको नेपाली क्रिकेट टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि राखेपले शुभकामना व्यक्त गरेको छ ।
