टेबलटेनिस पदक विजेतालाई सदस्य–सचिव घिसिङको बधाई

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसंगको भेटमा सदस्य–सचिव घिसिङले सफलताको प्रशंसा गर्दै बधाई दिएका हुन् ।

सदस्य–सचिव घिसिङले टेबलटेनिसले छनोट चरण पार्दै पेरिस ओलम्पिकमा सहभागिता सुनिश्चित गरिसकेको अवस्थामा अबका जुनियर खेलाडीलाई त्यो विरासत कायम गर्ने गरी खेलमा ध्यान दिनु पर्नेमा जोड दिएका छन् । उनले खेलाडीलाई आगामी प्रतियोगिताको तयारीमा केन्द्रीत हुन सुझाए ।

टोलीका प्रशिक्षक सन्जिव ढुंगेलले खेलाडीले सोचे भन्दा राम्रो प्रदर्शन गरेको बताउदै खेलाडीको नतिजाबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

टोलीकी व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा हात पारेको बताउदै सहभागिताका लागि सहयोग गरेकोमा राखेप र सदस्य–सचिव घिसिङलाई धन्यवाद दिइन् ।

टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले सदस्य–सचिवकै सहयोगका कारण टिम सहभागी हुन पाएको स्मरण गरे ।

पदक विजेता खेलाडीले प्रतियोगिताबाट अनुभव बटुल्ने अवसर पाएको बताउदै आफ्नो कमीकमजोरी थाहा पाउने अवसर पनि मिलेको बताए ।

श्रीलंकाको क्यान्डीमा जेठ १३ देखि १६ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र ५ कांस्य जितेको थियो ।

यु–१९ गर्ल्स डबल्समा इभाना थापा मगर र बियङ्का राईले रजत जितेका थिए । यु–१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गर्ल्समा बियङ्का राई, इभाना थापा र योङगी पौडेलले कांस्य हात पारेका थिए ।

गर्ल्स यु–१५ को सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कांस्य प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close