
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय बास्केटबल प्रतियोगितामा महिलातर्फ स्याङजा र पुरुषतर्फ म्याग्दीले उपाधि जितेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा म्याग्दीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको थियो । ओभरटाइमको खेलमा म्याग्दी बिजयी बन्न सफल भयो । थपिएको समय ४ मिनेटमा म्याग्दी पर्वत माथी हावी बन्यो । म्याग्दीले १३ स्कोर जोड्दै आफ्नो कुल स्कोर ७८ पुर्याउँदा पर्वतले ३ स्कोर जोड्दै ६८ मा सिमित भयो ।
यस अघि सेमीफाइनलमा पर्वतले कास्कीलाई ६०–४७ ले म्याग्दीले स्याङजालाई ६७–४० ले पराजित गरी उपाधि नजिक पुगेका थिए ।
यत महिलातर्फ स्याङजाले उपाधि जितेको छ । स्याङजाले म्याग्दीलाई ४५–३६ ले पराजित गरी उपाधि जितेको हो ।
उपाधि बिजेता टिम म्याग्दी र स्याङजाले समान नगद रु ६०–६० हजार नगद र उपविजेता पर्वत र म्याग्दीले समान नगद रु ४०–४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
तीन दिन देखि पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ म्याग्दीका सुदिप कार्की र महिलातर्फ स्याङजाकी एन्जल गुरुङ मष्ट भेलुएबल प्लेएर घोषित भएको संघका महासचिव विष्णु कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
जारी प्रतियोगिताको फाइनल खेलको शुभारम्भ गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता सुन्दाशले गरेकी थिइन् ।
प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई परिषदका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङ, परिषदका सदस्य सचिव श्रीधर शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा महिलातफै ६ र पुरुषतर्फ ८ टिम गरी कुल १४ टिमको सहभागिता रहेको थियो ।
