
पोखरा स्पोर्टस । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
सो कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेल्छ गण्डकी कार्यक्रम महत्वपूर्ण योजनाको मध्ये एक रहेको जनाउँदै कार्यक्रमले विपन्नवर्गहरुलाई समेत खेलकुद अभियानमा समेट्न भूमिका खेलेको बताए ।

प्रदेश खेलकुद परिषद अन्तर्गत रहेका विभिन्न कार्यक्रम मध्येको खेल्छ गण्डकीबाट विनियोजित रकमले विभिन्न क्षेत्रलाई समेट्दै खेलकुद विकासको अभियानलाई गति दिने गरी परिषद अघि बढेको जनाउँदै भलिबलको उर्वर भूमी मध्येको म्याग्दीमा यो कार्यक्रमले खेलकुदको पहुँचमा नरहेका महिलाहरुलाई खेल मैदान सम्म डोर्याउन सहयोगी रहने विश्वास व्यक्त गरे । उनले भने–“हामी खेल्छ गण्डकी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन विशेष गरी महिला खेलाडीहरुलाई उत्प्रेरणा जगाउन अभियानको रुपमा अघि बढाएका छौं । यसले केही वर्षमा नै गण्डकीको खेलकुद विकासमा सुखद नतिजा दिनेमा हामी विश्वस्त छौं ।”
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले परिषदले तय गरेका योजनाहरु कार्यान्वयन गरी सफल बनाउन जिल्ला खेलकुद तत्पर रहेको जनाउँदै यो कार्यक्रमले जिल्लामा महिला भलिबल खेलाडीहरुलाई आकषर्ण गर्न थप सहयोगी हुने उल्लेख गरे ।
उद्घाटन कार्यक्रम जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाको अध्यक्षतामा भएको थियो ।
सो कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका विभिन्न जिल्लाका गरी ३० महिला खेलाडीहरुको सहभागिता रहेको अध्यक्ष बाँनियाले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रश्क्षिण कार्यक्रम आगामी जेठ १३ गते सम्म सञ्चालन हुने छ ।
