
पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा आयोजित दोस्रो राष्ट्रिय हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबले बर्चश्व बनाएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा आयोजना गरेको उक्त प्रतियोगितामा आर्मीको बर्चश्व रहेको हो । सम्पन्न हाफ म्याराथनको उपाधि आर्मी क्लबका राजन रोक्काले जितेका छन् । जित संगै राजनले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । राजनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरे ।
आर्मीकै नरेन्द्र रावत दोस्रो भए । नरेन्द्रले १ घण्टा १० मिनेट १४ सेकेन्डमा दूरी पार गरे । नरेन्द्रले ७५ हजार प्राप्त गर्दा आर्मीकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भएका छन् । रामजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, आर्मीकै श्रीष लाल पाँचौ तथा एपिएफका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन् । दुर्गाले ३० हजार, श्रीषलालले २० हजार र किरणले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
१० किमि महिला खुल्ला दौडको उपाधि एपिएफकी पुष्पा भण्डारीले जितेकी छन् । एपिएफकै आशा रावत दोस्रो तथा सृजना पाण्डे तेस्रो भएकी छन् । पुरुष १० किमीमा अजित कुमार यादव विजयी भएका छन् । नागेश्वर अहिर दोस्रो तथा करण रावत तेस्रो भएका छन् । अजित ३५ हजार, नागेश्वरले २५ हजार तथा करण १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले पुरस्कृत गरे ।
एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले जनाए अनुसार कार्यक्रममा चर्चित अन्तर्राष्टिय धावक बैकुण्ठ मानन्धर र भलिबलका अन्तर्राष्ट्रिय रेफ्री चन्द्रबदना राइलाइ सम्मान गरिएको छ ।
एकेडेमीले पहिलो राष्ट्रिय हाफ म्याराथन गत वर्ष गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको थियो ।
